दल

भ्रष्टाचार र बेथितिलाई जोगाउन खोजे सदन र सडकबाट प्रतिवाद गर्छौं- प्रचण्ड

इकागज |
भदौ १४, २०८१ शुक्रबार १२:९ बजे

फाइल फोटो

सुर्खेत - नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गरिने बताएका छन् ।

पार्टीको कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न सुर्खेत आएका प्रचण्डले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो धारणा राखेका हुन् ।


उनले पछिल्लो समय कसको चाहनामा र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रष्ट रहेको उल्लेख गर्दै अघिल्लो सरकारले अघि बढाएको भ्रष्टाचारमाथिको छानबिनलाई सामसुम पार्ने खेल भइरहेकाले यसविरुद्ध सदन र सडकबाट आवाज घनीभूत गराउने बताए । अहिले सदनबाट सरकारलाई सचेत रहन आग्रह मात्र गरिएको उल्लेख गर्दै उनले सच्चिने होइन भने सदन र सडक दुबै ठाउँबाट आन्दोलन अघि बढाउने बताए । 

सरकार पहिलो र दोस्रो दल मिलेको संसारको संसदीय इतिहास नभएको उल्लेख गर्दै उनले गलत कुरालाई चोख्याउनका लागि गरिएका सबै खालका क्रियाकलापको साक्षी भएर माओवादी नबस्ने बताए । भदौ ११ मा आफूले संसदमा गरेको सम्बोधनले उत्तेजना र आवेग नभई सरकारका गलत कामको भण्डाफोर गरेको उल्लेख गर्दै उनले गलत कामको विरोध गर्न सय दिन नै पर्खनुपर्छ भन्ने कतै नभएको उनले स्पष्ट गरे । 

अहिले सदनमा चलिरहेको ‘हिंसा’ सम्बन्धी विवादका सम्बन्धमा पत्रकारले सोधेको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘एमालेका साथीहरूले त्यसरी नबोलेको भए हुन्थ्यो, कुनै समयमा जनयुद्ध र यसका उपलब्धिलाई उहाँहरूले राम्रोसँग ब्याख्या गर्नुभएकै हो । अझ जसले हिंसा भन्ने शब्द प्रयोग गर्नुभयो, उहाँले जनयुद्धको प्रशंसा नै गर्नुहुन्थ्यो । विस्तृत शान्ति सम्झौतादेखि संविधानमा उल्लेख गरिएका शब्दको मर्मभन्दा बाहिर जाने गरी त्यस्ता अभिव्यक्ति नदिन म सम्बन्धित साथीहरूलाई सचेत गराउन चाहन्छु ।'

सबै खालका परिवर्तन माओवादीकै एजेण्डा भएकाले यसलाई जोगाउने कुरा पनि माओवादीकै भूमिका बढी भएको औंल्याउँदै उनले माओवादीको महत्व र भूमिकालाई मिनिमाइज गर्ने गरी अभिव्यक्ति नदिन आग्रह गरे ।

माओवादी फुट्छ भन्ने हल्ला निराधार भएको र पछिल्ला बैठकहरूमा भइरहेका खुला र स्पष्ट बहसले सबै आशंका अन्त्य गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउँदै विगतमा विभाजन भएका दलहरुलाई समेत एकताबद्ध गर्ने काममा पार्टी अघि बढेको जानकारी दिए ।

‘पार्टी फुट्छ कि भनेर जो हल्ला फैलाइएको थियो, हाम्रो पार्टीले त्यसलाई सर्वसम्मतरुपमा खारेज गरेको छ’– उनले भने, ‘केही मानिसहरूले डिजाइनअनुसार यस्तो हल्ला फैलाएका हुन् । सबै प्रदेशमा पुग्दा यो भ्रम पूर्ण रुपमा अन्त्य भइसक्ने छ ।’


Author

थप समाचार
x