दल

विकासमा छुटेको कर्णाली रास्वपाले जोड्छ : रवि लामिछाने

इकागज |
भदौ १५, २०८१ शनिबार २१:१५ बजे

फाइल फाेटाे

कर्णाली - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदैव विकासमा छुटेको कर्णालीलाई अब आफ्नो पार्टीले जोड्ने बताएका छन् । 

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वीरेन्द्रनगरमा आज आयोजित कर्णाली विशेष अभियानको प्रदेश भेलामा सभापति लामिछानेले कर्णालीले पटक-पटक नेताहरूलाई जिताएर सिंहदरबार पठाए पनि ती जनप्रतिनिधहरुले आफू र आफ्नालाई बनाउनेबाहेक अरू केही नगरेको टिप्पणी गरे ।


उनले भने, 'कर्णालीले जितेन, सधैँ हार्यो । अब विकासमा जोड्नका लागि आगामी चुनावमा यसले रास्वपालाई सबैभन्दा बढी मत दिएर जिताउँछ भन्ने अपेक्षा गरेको छु ।' राजनीतिमा आँट, तागत र ढङ्ग हुन आवश्यक रहेको बताउँदै सभापति लामिछानेले आगामी निर्वाचनमा पुराना नेताहरूलाई स–सम्मानका बिदा गर्ने जिकिर गरे । 

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका उनले भने, 'विकासमा कर्णाली छुट्यो तर यसले चुनेर पठाएका एकएकका परिवार गोरु बेचेको साइनो परेको मान्छे सबलाई पुगेको छ कोही छुटेको छैन ।' घण्टीसँगै जिम्मेवारी, जनताको ‘एजेन्डा’ बोकेर अगाडि बढेको रास्वपालाई ०८४ को चुनावमा कर्णालीले सबैभन्दा बढी मत दिने उनले दाबी गरे । 

पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सहर मात्र नभई गाउँगाउँमा पनि रास्वपा फैलिँदै गएको बताए । उनले रास्वपा चार महिना सरकारमा हुँदा विधिगत काम मात्र गरेको जिकिर गरे । 

सभापतिलाई अनावश्यक दुःख दिन समिति बनाए पनि त्यो गलत साबित हुँदै गएको जनाउँदै उनले वर्षौंदेखि रजगज गरेकाहरुले भ्रम छर्ने काम गरेको आरोप लगाए । सांसद विनिता कठायतले रास्वपा कर्णाली विकासको आधारशिला हुने तर्क गरिन् । 


Author

थप समाचार
x