दल

शेरबहादुर देउवाले नै यो सरकार विचौलियाले बनाएको स्वीकार गरिसकेः वर्षमान

इकागज |
भदौ १८, २०८१ मंगलबार २१:३२ बजे

बुटवल - नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले वर्तमान केपी ओली नेतृत्वको सरकार विचौलिया व्यापारीले निर्माण गरेको भन्ने आफूहरूको आरोप पुष्टि भएको बताएका छन् ।

पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुपन्देहीको २३औं जिल्ला सम्मेलनको मंगलबार उद्घाटन गर्दै पुनले आफूहरूले भन्दै आएको विषय कांग्रेस सभापति शेरबहादुर देउवाले स्वीकार गरेको बताए ।


‘हाम्रा अध्यक्ष प्रचण्डले संसदको रोस्टमबाटै विचौलिया र भ्रष्टाचारी समात्न थालेपछि उनीहरुले हामीलाई सरकारबाट निकाले, कांग्रेस-एमालेलाई मिलाइदिए भन्नुभएको थियो’ पुनले भने, ‘पूर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले एक व्यापारीको नाम लिएर भनेको सुनियो, उहाँलाई केपी ओलीजीको मात्र मान्छे भन्छन् । उहाँ हामी दुवैको साझा मान्छे हो । उनको वर्तमान सरकार बनाउन निकै ठूलो भूमिका छ भनेर स्वीकार गरे । ’

आफूहरुले सुरुदेखि नै भन्दै आएको उक्त विषयबारे सत्ताबाट हट्नु पर्दाको पीडास्वरुप माओवादीले पूर्वाग्रहपूर्ण टिप्पणी गर्नेहरूले समेत सरकार बिचौलियाले नै बनाएका रहेछन् भन्न थालेको उनको भनाइ थियो ।

ओली सरकारलाई जनताले कालेकाले मिलेर खाऔंवालाहरूको सरकार भनिरहेका बेला देउवाले विचौलिया र भ्रष्टाचारीहरू मिलेर माओवादीलाई बाहिर निकालेर आफू अनुकूल कांग्रेस-एमाले सरकार बनाएको स्वीकार गरेको टिप्पणी गरे ।

उनले अहिलेको सरकारले जनताको विकास र सुशासनको अपेक्षा सम्बोधन नगर्ने भन्दै सरकार निर्माणमा संलग्न विचौलिया वर्गको सेवा गर्ने आरोप लगाए । पुनले गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता र धर्मनिरपेक्षताको एजेण्डामा कांग्रेस-एमालेलाई माओवादीले सहमत गराएर सहकार्य गरेको भए पनि सुशासनको एजेण्डामा कुरा नमिलेको पुनले बताए ।

पुनले प्रचण्डको नेतृत्वमा भएको १० वर्षे सशस्त्र जनयुद्धकै कारण अहिलेका राजनीतिक उपलब्धि हासिल भएकाले त्यसलाई अवमूल्यन र अपमान गर्ने कार्य कदापि स्वीकार्य नरहेको टिप्पणी गरे ।


Author

थप समाचार
x