दल

आगामी निर्वाचनमा एमाले एक्लै चुनाव लड्छ - ओली

इकागज |
भदौ १९, २०८१ बुधबार २१:१५ बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा एमालेले निर्णायक राष्ट्रिय शक्ति निर्माणमा सन्दर्भमा पार्टीको वार्षिक कार्य योजनालाई अन्तिम रुप दिने जिम्मा सचिवालयलाई दिने निर्णय गरेको छ । 

पार्टी कार्यालय च्यासलमा बुधबार सम्पन्न एमाले पोलिटब्युरो बैठकले महासचिव शंकर पोखरेलले प्रस्तुत गर्नुभएको वार्षिक कार्य योजनामाथि छलफल गर्दै सुझाव सहित अन्तिम रुप दिने जिम्मा पार्टी सचिवालयलाई दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । वार्षिक कार्ययोजना ५१ जना पोलिटब्युरो सदस्यहरूले धारणा राखेका थिए ।


उनीहरुले वार्षिक कार्य योजनाको कार्यान्वयनमा जोड दिएको गौतमले बताए । बैठकको समापन सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी ओलीले पार्टीभित्र अराजक गतिविधि स्वीकार्य नहुने भन्दै अराजक गतिविधि गर्नेलाई पार्टी छाड्न सुझाव दिएका थिए । 

ओलीले एमाले कुनै ढल नभएकाले कि राजनीति गर्न कि रमाइलो गर्न सुझाव दिएको प्रचार विभाग प्रमुख गौतमले बताए । उनले आगामी निर्वाचनमा एमाले एक्लै चुनाव लड्ने भन्दै अहिलेको अवस्थामा कुनै बामपन्थी एकता सम्भव नरहेको स्पष्ट पारेको  गौतमले दिए । 

एमाले महासचिव पोखरेलले प्रस्तुत गरेको कार्य योजनामा पार्टी संरचनालाई बलियो बनाउन पार्टीको केन्द्रमा एक र सातै प्रदेशमा पार्टी स्कूलका स्थायी संरचना खडा गर्ने उल्लेख गरेका छन् । त्यस्तै पार्टीको सदस्यता नवीकरण, विस्तार, अभिलेखीकरण, पार्टी कमिटीका नियमित अधिवेशन, पार्टी कमिटीको मूल्यांकन लगायतका बिषय प्रतिवेदनमा समावेश गरेका छन् । पोलिटब्युरो बैठकले विभिन्न समसामयिक प्रस्ताव समेत पारित गरेको छ । 


Author

थप समाचार
x