दल

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्छ: गगन थापा

इकागज |
भदौ २५, २०८१ मंगलबार १७:१८ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको भन्दै उपसभापति गुरुङका विषयमा पनि निष्पक्ष छानबिन हुनुपर्ने बताएका हुन् । 


गुरुङ आफैले सदनमा जस्तोसुकै छानबिनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाई गर्न नहुने उनले बताए । कुनै पनि प्रकरणमा कानुनको उल्लघंन गरे दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोष भए दण्ड पाउन नहुने पार्टीको स्पष्ट बटमलाइन रहेको थापाले बताए । उनले गुरुङको मात्रै नभई आफ्नो वा अरु कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानबिन हुनुपर्ने र दोषी देखिए कारवाही समेत गर्नुपर्ने धारणा राखे । 

त्यस्तै थापाले सरकारलाई प्रभावकारी रुपमा अघि बढाउनका लागि साझा न्यूनतम् कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिए । ​

उनले सबैको बीचमा सहमति कायम गरेर अहिलेको व्यवस्थालाई सुदृढ गर्ने गरि राजनीतिक स्थायित्वलाई प्राथमिकतामा राख्ने गरि न्यूनतम् साझा कार्यक्रम बनाइने जानकारी दिए ।

 त्यस्तै मुलुकको अर्थतन्त्रको सुधारका साथै जनतालाई परिवर्तनको महसुस हुने गरि काम गर्नका लागि आवश्यक साझा कार्यक्रम बनाउनुपर्नेमा उनले जोड दिए ।


Author

थप समाचार
x