दल

संविधानको विरुद्धमा ठूलो शक्ति लागेको छ - अध्यक्ष ओली

इकागज |
भदौ २९, २०८१ शनिबार १४:२६ बजे

फाइल फाेटाे

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संविधानको विरुद्धमा ठूलो शक्ति लागेको बताएका छन् ।

शनिबार काठमाडौंमा एमालेले आयोजना गरेको स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण विषयक कार्यशाला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले परिवर्तनका विरोधी शक्तिहरु संविधान विरुद्ध खुलेआम लागेको बताएका हुन् । सामन्ती, निरंकुश र अधिनायकवादी राजतन्त्रको पक्षमा मान्छे उफ्रिएको अहिलेजस्तो कहिल्यै नदेखेको उनले बताए ।


उनले नेपालमा शान्ति प्रक्रियालाई सुव्यवस्थित हुन नदिने षड्यन्त्र गरिएको समेत बताए । ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गरे । एमाले अध्यक्ष समेत रहेका ओलीले परिवर्तनको सारथि एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा प्रतिक्रियावादीहरु लागेको टिप्पणी गरे । 

आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन व्यापक रुपमा लाग्न आग्रह गर्दै उनले नेकपा (माओवादी केन्द्र) को मत घट्दो रहेको र आउँदो निर्वाचनमा चार पाँच लाखसम्ममा झर्ने अनुमान गरे । अध्यक्ष ओलीले कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनाहरूलाई गतिशील बनाउँदै समस्याहरूको खोजी र निदान हुने अपेक्षा गरे । 


Author

थप समाचार
x