दल

निर्वाचन भएको २८ महिनापछि कांग्रेसको समीक्षा बैठक

इकागज |
भदौ ३०, २०८१ आइतबार १९:५२ बजे

फाइल फाेटाे

मकवानपुर - नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन सम्पन्न भएको २८ महिनापछि निर्वाचनको समीक्षा सुरु गरेको छ । कांग्रेसले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठनमा गरेको ढिलाइका कारण विसं २०७९ वैशाखमा सम्पन्न निर्वाचनको समीक्षा यही भदौ अन्तिमबाट सुरु गरेको हो ।

पार्टीले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठन गरेपछि विभागले आफ्नो पहिलो कार्यक्रम आज बागमती प्रदेशको राजधानी हेटौँडाबाट सुरु गरेको कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए । 


कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, वडाअध्यक्ष तथा सदस्यहरू एवम् उम्मेदवारसहित  निर्वाचनको समीक्षा र आगामी योजनाबारे छलफल भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई मजबुत बनाउँदै समग्र जनताको हितमा काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् । उनले समग्र राजनीतिक विषयका साथै जनप्रतिनिधि र आम जनताबीच कसरीे सम्बन्ध प्रगाढ बनाउन सकिन्छ भन्ने विषयमा चर्चा गरेका थिए । 

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले राष्ट्रियता, समाजवाद र लोकतन्त्रको पक्षधर भएकाले कांग्रेसमा आबद्ध हरेक नेता, कार्यकर्ताले जनताको घरदैलोमा पुगेर समस्या समाधान गर्नुपर्ने आवश्यकता  औँल्याए । उनले जनहितको सवालमा आफूले जुनसुकै अवस्थामा सहयोग गर्न तयार रहेको पनि बताए । 

कार्यक्रममा विभागका प्रमुख एवम् पार्टी केन्द्रीय सदस्य मधु आचार्यलगायतको टोलीले जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिएको थियो ।
 


Author

थप समाचार
x