दल

राष्ट्रिय भेलामा रविको सम्बोधन : सहकारी ठगी नगरेको संसदीय समितिले ठहर गर्‍यो

इकागज |
असोज १, २०८१ मंगलबार १०:१६ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा शुरु भएको भेलालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टी प्रतिको आकर्षण दिनप्रतिदिन बढिरहेको बताएका छन् ।

उनले व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएपछि आफुहरूले हस्तक्षेप गर्न राजनीतिमा आएको भन्दै अहिलेसम्मको देशको परिवर्तनमा योगदान गरेकाहरूलाई आफुहरूले अवमुल्यन नगर्ने स्पष्ट गरे । 


सभापति लामिछानेले आफुहरू राम्रो नराम्रो समस्याको चाङमा रहेको भन्दै आफुहरूको आगमननै अरुको लागि समस्या बनेको बताए । उनले आफुहरूको आक्रमण पनि ठूलो हुने हुनाले आफुहरूप्रतिको आक्रमण पनि ठूलो नै हुने भएकाले तयार रहन नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

लामिछानेले आफुहरूको यात्रा सजिलो यात्रा नभएकाले अहिले रास्वपा सकियो भन्नेहरूलाई रास्वपा सकिएको होइन रास्वपाले सक्ने दाबी गरे । यो लडाईमा आफुहरूलाई हार्ने छुट नभएको बताउँदै आफुहरूले शान्त विद्रोह गर्दै मतपत्रको माध्यमबाट परिवर्तन गर्ने बताए । उनले मानिसहरूले गोल खान नडराएर जोगाएको लोकतन्त्रमा हामीहरू गाली खान डराउन नहुने बताए । 

सहकारी ठगी प्रकरणको बारेमा बोल्दै लामिछानेले संसदीय समितिले आफुलाई सहकारी ठगी नगरेको भन्दै आफुलाई गोर्खा मिडिया सञ्‍चालनमा जवाफदेही भएको समितिले ठहर गरेको बताए । 

बुधबारसम्म जारी रहने भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लबरलिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेण्डामा छलफल हुनेछ ।

रास्वपाका अनुसार यस भेलामा देशभरबाट १५ सय प्रतिनिधिले भाग लिँदैछन् । सभापति लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुखले साङ्गठनिक प्रतिवेदन पेस गर्ने पार्टीले जनाएको छ ।

भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ । भेलामा देशभरबाट निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक- उपसंयोजक, प्रदेशको समिति-विभाग, केन्द्रीय समिति-विभाग-आयोगहरूबाट प्रतिनिधित्व रहने पनि पार्टीले बताएको छ । 


Author

थप समाचार
x