दल

वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा

इकागज |
असोज ५, २०८१ शनिबार २१:५८ बजे

फाइल फाेटाे

काभ्रेपलाञ्चोक - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताएका छन् । उनले काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण गरिएको महामानव बिपी कोइरालाको प्रतिमा अनावरण समारोहलाई आज सम्बोधन गर्दै सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सत्तासहकार्यको वर्तमान सरकारबाट मुलुकमा सकारात्मक सन्देश दिएको बताए । 

“दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाएअनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ”, देउवाले भने । उनले कांग्रेस पार्टीलाई आगामी निर्वाचन पहिलो पार्टी बनाउने गरी मेहनत गर्न र जनताको कामलाई पनि सँगसँगै लैजान पार्टीका नेताकार्यकर्तालाई आग्रहसमेत गरे । उनले भने, “सत्ता सहकार्यले मात्रै हुँदैन, अब सबै मिलेर जनताको पक्षमा काम गर्नुपर्दछ ।” उनले दुई पार्टीबीच सहकार्य गरी काम पनि सोहीअनुसार गर्नुपर्ने बताए । 


सभापति देउवाले ठट्यौली शैलीमा ‘कांग्रेसले कामै गर्दैनन्, गफ बढी गर्छन्’ भन्ने भन्ने भाष्यलाई चिर्दै धेरै काम गर्नुपर्ने बताए । “अब हामीले जनतासँगको सम्बन्ध बढाउनुपर्छ, उनीहरूको मन जित्नेगरी काम गर्नुपर्दछ, प्रदेश, जिल्ला तथा गाउँ एवं स्थानीयस्तरका विकास योजनामा मिलेर काम गर्नुपर्छ । जनताको दुःख, पीर–मर्का बुझ्नुपर्दछ”, सभापति देउवाले भने । 

सभापति देउवाले कांग्रेसलाई एक नंवरको पार्टी बनाउने इच्छा र उद्देश्य रहेको बताए । “नंवर वान पार्टी बन्नका लागि पनि जनताको काममा लाग्नैपर्‍यो, यसका लागि म सबै साथीहरूलाई पुनः आग्रह गर्दछु”, उनले भने ।  हालको यो संविधान समावेशी र समानुपातिक प्रणाली भएकाले कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो भएको उहाँको तर्क थियो । “तैपनि गाह्रै, अप्ठ्यारै भएपछि काम त गर्नुपर्‍यो नि ! त्यसको निम्ति हामीले धेरै मेहनत गर्‍यौँ भने बहुमत प्राप्त गर्न सक्नेछौँ”, उनले थपे । 

सभापति देउवाले इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिनुपर्ने दोहोर्‍याए । उनले बिपी कोइरालाको इच्छाअनुसार गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा बिपी राजमार्गको सुरुआत गरेको स्मरण गर्दै जापानको सहयोगमा बनेको यस बाटोले पूर्व जाने छोटो बाटो तथा ‘कनेक्टिभिटी’ बढाउन निकै महत्त्वपूर्ण भएको बताए । उनले भने, “यो ठूलो गौरवको विषय हो ।”


Author

थप समाचार
x