मध्यरातमा रविको ओलीलाई चेतावनी : न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू !
फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी शैलीमा न्युयोर्कबाट आँखा नसन्काउनु भनेका छन् ।
गएराति सामाजिक सञ्जालमा लेख्दै लामिछानेले सहकारी पीडितको मुद्दामा न्याय दिलाउने वास्तविक चाहना भए छलफलमा आउन आग्रह गरेका छन् ।
लामिछानेले भनेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू,फर्केर आउनुस् , बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न । बाँकी भोलि...।’
आइतबार गोर्खा मिडिया ग्रुपका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी सहकारी बचत अपचलन प्रकरणमा पक्राउ परेपछि लामिछाने पनि पक्राउ पर्ने हल्ला चलेपछि रास्वपाभित्र हल्लीचल्ली मच्चिएको थियो ।
पक्राउ पर्ने खबर मिडियामा एकपछि अर्को गर्दै आएपछि बनस्थलीस्थित पार्टी कार्यालयमा शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका थिए । छलफलपछि केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफू नडराउने भन्दै पक्राउ गरे प्रतिवाद गर्ने घोषणा गरेका थिए ।
यसैबीच उपसभापति डा. स्वर्णीम वाग्लेसहित चीन गएको १० नेताको टोलीलाई पनि रास्वपाले जति सक्दो छिटो देश फर्किन निर्देशन दिएको छ । वाग्लेसहितको टोली आज काठमाडौँ आइपुग्ने बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया