दल

देउवाले भने - मृत्यु र भौतिक सम्पत्तिको क्षति भएकामा दुःखी छु

इकागज |
असोज १२, २०८१ शनिबार १५:५५ बजे

फाइल फाेटाे

काठमाडौँ - देशको अधिकांश भूभागमा वर्षाका कारण बाढीपहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । अविरल वर्षाका कारण  व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिकोे क्षति भएकामा उनले दुःख व्यक्त गरेका हुन् ।

“मानिसहरू बेपत्ता र घरवारविहीन भई विस्थापित हुनका साथै सयौँ व्यक्तिहरू घाइते भएका छन् । राजमार्गका अधिकांश स्थानमा सडक मार्ग अवरुद्ध भएको छ । सम्पूर्ण पीडितको यो संवेदनशीलताप्रति कांग्रेसका तर्फबाट सहानुभूति प्रकट गर्दै यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु”–सभापति देउवाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


यस घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय एवं भौतिक क्षति रोक्न तीन वटै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रित गर्न पनि उनले आग्रह गरेका छन् ।​

सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।

स्थानीय पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन सभापति देउवाले निदेश समेत दिएका छन् । दलका साथीलाई व्यवस्थित ढङ्गले प्रभावकारी रुपमा कार्य गर्न आग्रह गर्दै उनले यो विपत्तिको सामना संयम् र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा सभापति देउवाले अपिल गरेका छन् ।

प्राकृतिक विपत्तिमा जीवन गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आत्माको चीरशान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको विज्ञप्तिमा उल्लेख छ । साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि उनले गरेका छन् ।
रासस


Author

थप समाचार
x