दल

खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न माओवादीको सरकारलाई ध्यानाकर्षण

इकागज |
असोज २०, २०८१ आइतबार १८:४० बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा माओवादी केन्द्रले जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

आइतबार सिंहदरबारमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री केपी ओलीलाई बाढी, पहिरो र डुबानका कारण अकल्पनीय मानवीय तथा भौतिक क्षति भएको सन्दर्भमा विपत् प्रतिकार्य, पुनःस्थापना, पुनर्निर्माणलगायतका विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।


सरकार एक्लैको प्रयासले विपत व्यवस्थापन सम्भव नहुने भएकाले विपद व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न आफ्नो दल तयार रहेको माओवादीले जनाएको छ । त्यस्तै माओवादीले राहत वितरणको झन्झटिलो प्रक्रियालाई छोट्याएर स्थानीय तहसँग समन्वय गरी पीडित जनताहरूलाई दसैँ अघि नै राहत दिन माग गरेको छ ।

बाढी तथा पहिरोका कारण अवरुद्ध राजमार्गहरूलाई यथा शीघ्र सञ्चालनमा ल्याउन मर्मतको कार्यमा तीब्रता दिनुपर्ने, विभिन्न राजमार्गमा अलपत्र परेका सवारी साधन र यातायात मजदुरलाई राहत एवं उद्धार कार्य युद्धस्तरमा अगाडि बढाउन माओवादीले सरकारको ध्यानाकर्षण गराएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।​

उनले बाढी र पहिरोका कारण क्षति भएको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको हेडवर्क्स निर्माण गरि सञ्चालनमा ल्याउन पनि माग गरिएको बताए । 

माओवादीको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले विपदका न्यूनीकरण गर्ने र आइ लागेको विपद्को सामना गर्न सबै पक्ष मिलेर गर्नुपर्ने र यस काममा सरकारले अगुवाइ गर्ने बताएका थिए । 

सो अवसरमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेताहरु सहभागी थिए । 

 


Author

थप समाचार
x