Ekagaj Logo
०१ कात्तिक २०८१, बिहीबार
(Thursday, 17 October, 2024)

दल

बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा के भयो ?

इकागज |
कात्तिक १, २०८१ बिहीबार १६:४९ बजे

काठमाडौं - शीर्ष तीन राजनीतिक दलहरू सत्य निरुपण आयोगका लागि सरकारले सिफारिस समिति बनाउने विषयमा सहमत भएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनलगायतका विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिएका हुन् ।


बस्नेतले छलफल शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने विषयमा सम्बन्धित रहेको बताउँदै सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको तर पूर्णता पाउन नसकेको अवस्था रहेकाले अहिले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने विषयमा सहमत भएको जानकारी दिए । उनले एक-दुई दिनभित्रै सर्च कमिटीले पूर्णता पाउने र आयोग गठनको प्रक्रिया औपचारिक रुपमा सुरु हुने बताए ।

उनले भने- 'शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने विषयमा सम्बन्धित थियो । सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको थियो र त्यसले पूर्णता प्राप्त गर्न बाँकी थियो । अहिले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने भन्नेबारेमा नै छलफल भयो ।'

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाललगायत सहभागी थिए । 


Author

थप समाचार
x