प्रतिपक्षी दलहरूको बैठकमा प्रचण्डले भने- तीन वटा पार्टी फुटाउन सरकारले अध्यादेश ल्याउँदै छ
फाइल तस्बिर
काठमाडौँ- प्रतिपक्षी दलहरूको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले साना दलहरूलाई विभाजन गर्नका लागि अध्यादेश ल्याउन सक्ने बताएका छन् । शुक्रबार बिहान बसेको प्रतिपक्षी दलहरूको बैठकमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले एकीकृत समाजवादी, माओवादी केन्द्र र रास्वपालाई विभाजन गर्ने गरी अध्यादेश ल्याउने सूचना पाएको ब्रिफिङ गरेका थिए ।
त्यस्तै सहकारीको रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका छन् । रास्वपा सभापति लामिछाने पक्राउ पर्नसक्ने सूचना आफूले पाएको ब्रिफिङ गरेका हुन् ।
बैठकमा सहभागी एक नेताले प्रचण्डको भनाइ उद्दृत गर्दै बिहीबार बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वगृहमन्त्री लामिछाने पक्राउ पर्न सक्ने संकेत गरेको बताए ।
सहकारी छानबिन विशेष समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो । तीमध्ये जोशीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
बैठकमा लामिछानेलाई पक्राउ गरेमा प्रतिवाद गर्ने विषयमा छलफल भएको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया