दल

वर्तमान सरकार ढल्दैन, सरकार जस्तो भएर चल्नुपर्छ :  डा.शेखर

इकागज |
कात्तिक ३, २०८१ शनिबार १९:१८ बजे

विराटनगर - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई चेतावनी दिएका छन् । 

शनिवार बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना नरहेको प्रस्ट्याए । 


आगामी निर्वाचनसम्म कांग्रेस र एमालेको गठबन्धनकै सरकार रहिरहने कोइरालाले बताए । सरकारले उद्देश्यअनुरुप कार्य भने गर्न नसकेको उनले टिप्पणी गरे। 

‘यो सरकार ढल्दैन चल्छ । तर सरकार सरकार जस्तो भएर चल्नुपर्दछ,’ कोइरालाले भने, ‘गाडीमा झण्डा हल्लाउँदै हिंड्न र जनताले तिरेको करबाट सेवा सुविधा खान मात्रै सरकार बनेको होइन । मन्त्रीहरूले इमान्दारीपूर्वक काम गर्नुपर्दछ । जनतालाई सरकार भएको अनुभूति दिनुपर्दछ ।’ 

कोइरालाले राजनैतिक स्थिरता, आर्थिक विकास र सुशासनका लागि देशका सबैभन्दा ठूला दल कांग्रेस र एमालेको सरकार बनेको उल्लेख गरे । 

उनले आर्थिक विकास र सुशासनमा सरकारले काम गर्न नसकेको हो कि भन्ने महसुस हुन थालेको बताए । उनले भने, ‘यो सरकार बनेको धेरै भएको छैन । तर यो बीचमा सुशासन र आर्थिक विकासको क्षेत्रमा जुन रुपमा काम हुनुपर्ने थियो त्यसअनुसार काम भइरहेको छैन । सरकार परिवर्तन भएको अनुभूति जनताले गर्ने हो । मलाई लाग्छ जनताले सरकार परिवर्तनको अनुभूति गरेका छैन जस्तो लाग्दछ ।’ 

उनले नेपाली जनताले धेरै चिज नखोजेको तर्क गर्दै अगाडि थपे,'सुशासन, आर्थिक विकास भए नेपाली जनता खुसी हुन्छन् । सुशासन र आर्थिक विकास भए रोजगारी सिर्जना हुँदै जान्छ ।’

सरकार परिवर्तन हुँदा पनि सुशासनमा कुनै सुधार नभएको उनको ठहर छ । 'सुशासन बिना आर्थिक विकास हुँदैन । सुशासन कायम गर्न सरकार निर्मम रुपमा प्रस्तुत हुनुपर्दछ,' उनले प्रस्ट पारे । 

त्यस्तै कांग्रेस र एमालेको बलले मात्रै संविधान संशोधन नहुने कोइरालाको प्रस्टीकरण थियो । नेता कोइरालाले अन्य दललाई पनि विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

‘संविधान संशोधन छुट्टै आयोग बनाएर हुन्छ कि संसदीय समिति बनाएर हुन्छ सबै दलको सहमतिमा गर्नुपर्दछ,’ उनले थपे, ‘हामी ठूला दल छौं भन्ने दम्भ राखेर एकलौटी रुपमा संशोधन गर्न खोजिए त्यसलाई नेपाली जनताले स्वीकार्दैनन् ।’ 

सरकारमा रहेका दलले विपक्षी दल फुटाउने र राज गर्ने प्रवृत्ति बढे लोकतन्त्र नै खतरामा पर्ने चेतावनी दिए । उनले भने, ‘सरकारले दलसम्बन्धी अध्यादेश ल्याउने चर्चा सुनिँदैछ । दल फुटाउने गरी अध्यादेश ल्याइए लोकतन्त्र र सुशासनको धज्जी उड्नेछ ।’

कोइरालाले २०८२ को मंसिरमा कांग्रेसको महाधिवेशन हुनेमा शंकासमेत व्यक्त गरे । वडा तहदेखि केन्द्रसम्मको अधिवेशन तोकिएकै मितिभित्र सम्पन्न नगरे कांग्रेस कमजोर हुने उनको कथन थियो । ‘कसैलाई खुसी पार्न र कसैलाई कुर्सीमा टिकाइराख्ने बहानामा कांग्रेसको महाधिवेशन सार्नुहुँदैन,’


Author

थप समाचार
x