दल

प्रतिपक्षी दलका नेताहरूले राष्ट्रपतिसँग भने - सरकारले संविधानको मर्म विपरीत काम गर्‍यो

इकागज |
कात्तिक ७, २०८१ बुधबार १७:४५ बजे

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदमा प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गरेका छन् ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रतिपक्षमा रहेको दलका नेताहरूले भेट गरेका हुन् । प्रतिपक्ष दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीहरूबारे राष्ट्रपतिलाई जानकारी दिनका लागि शीतलनिवासमा आएको जानकारी दिएका थिए । 


राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले वर्तमान परिस्थितिकाबारे जानकारी दिनका लागि आफूहरू आएको बताउँदै लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनीहरूले संविधानको मर्म विपरीत र बहुलवादमा आधारित मर्म विपरीतका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । 

सो असरमा राष्ट्रपति पौडेलले आफू  संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रवर्द्धनप्रति प्रतिबद्ध रहेको बताउँदै संविधानले आफूलाई दिएको कर्तव्य र सीमा अनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गरे । उनले भने– ‘संविधान मर्म र लोकतन्त्रको मर्मलाई हेरेर संविधानले निर्धारित राष्ट्रपतिको कर्तव्य र सीमालाई हेरेर मैले काम गर्ने कुरामा तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु ।’

संसदमा प्रतिपक्षमा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, र आम जनता पार्टी छन् ।

राष्ट्रपति पौडेलसँगको भेटमा नेकपा माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदद्धय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी थिए । 


Author

थप समाचार
x