दल

प्रचण्डको प्रश्न– सहकारी ठगीमा जोडिएका सत्तापक्षीय नेतालाई किन छोइएन ?

इकागज |
कात्तिक १०, २०८१ शनिबार १६:९ बजे

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा दोषी देखिएका कांग्रेस एमालेका नेताहरूलाई अनुसन्धानमा नल्याएकोमा विरोध गरेका छन् ।

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन उनले संसदीय समितिले कांग्रेस र एमालेका नेताहरूलाई पनि दोषी ठहर गरेकोमा उनीहरुलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको बताए ।


आफू प्रधानमन्त्री हुँदा गल्ती गर्नेको सूचीमा प्रचण्ड भेटिए पनि पक्राउ गर भनेर राज्यसंयन्त्रलाई निर्देशन दिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने– ‘हाम्रो स्पष्ट कुरा के हो भने दोषी कोही पनि नछुटोस्, निर्दोष कोही पनि नपरोस् ।’

कतिपयले आजको खबरदारी सभालाई रवि लामिछानेलाई बचाउने सभाको रुपमा गलत व्याख्या गरेको उल्लेख गर्दै उनले दोषी सबै सजायको भागीदार हुनुपर्ने तर सरकारले सत्तापक्षीय नेतालाई बचाउने र प्रतिपक्षीलाई कारवाही गर्ने प्रवृत्तिको विरोध गरेको बताए ।

उनले पछिल्लो समय सरकारले सार्वजनिक संस्थान निजी क्षेत्रलाई दिने तयारी थालेको खबर आएको उल्लेख गर्दै एउटा पनि उद्योग बिचौलियालाई बेच्ने काम गरियो भने त्यो नेपाली जनतालाई सैह्य नहुने बताए ।


Author

थप समाचार
x