दल

माओवादीले थालेको सुशासनको रेकर्ड कसैले मेटाउन सक्दैन- प्रचण्ड

इकागज |
कात्तिक १०, २०८१ शनिबार १६:१४ बजे

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारले नेपालमै सुशासनको सवालमा ऐतिहासिक रेकर्ड बनाएको उल्लेख गर्दै यसलाई कसैले मेटाउन नसक्ने बताएका छन् ।

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा थालेको अभियान नेपालकै लागि पहिलो रेकर्ड बनाएको बताएका हुन् ।


अध्यक्ष प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्राउ गरेपछि अत्तालिएर सरकार ढालिएको उल्लेख गर्दै अहिलेको सरकार भ्रष्टाचारीलाई बचाउनकै लागि बनेको बताए । 

उनले चार दिनको तयारीले गरेको खबरदार सभाले सरकार तर्सेको उल्लेख गर्दै भोलि ठूलै विरोधभासको तयारी गरे सरकारको हालत के होला भनेर प्रश्न गरे । उनले आफूहरूले जनताका मुद्दालाई ज्ञापनपत्रको रुपमा प्रस्तुत गरिएको उल्लेख गर्दै त्यसलाई गम्भीरतापूर्वक नलिए आन्दोलन चर्कँदै जाने बताए ।

बाढीपहिरो पीडितलाई राहत, उद्धार र पुनर्स्थापना गर्ने तथा आफूहरूले थालेको सुशासनको अभियान, उर्जा क्षेत्रमा गरेको क्रान्ति, शैक्षिक क्षेत्रमा लागु गरेको मेरिटोक्रेसी आदि कामलाई सरकारले अगाडि बढाएन भने आन्दोलन अघि बढाउने चेतावनी दिए ।

अहिले देशका दलाल, भ्रष्ट र बिचौलियाहरुलाई माओवादी पार्टी र त्यसको नेतृत्व प्रचण्ड ठूलो त्रासको रुपमा देखिन थालेको र जनतालाई फेरि एकपटक माओवादीलाई नै बलियो बनाउनुपर्छ भन्ने चिन्ता देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको हकअधिकारका लागि निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गरे ।


Author

थप समाचार
x