जब धर्मगुरुले शेखरको काँधमा हात राख्दै भने- काँध बलियो बनाउनुहोस्, अभिभावक बनेर देशको जिम्मेवारी लिनेबेला भयो
काठमाडौँ- कोशी प्रदेशलाई धेरैले विविधतायुक्तको प्रदेश भनेर पनि चिन्छन् । राजनीतिक, आर्थिक, सांस्कृतिक र धार्मिक पक्ष सबै कोणबाट कोशीलाई सबल भनेर पनि चिनिने गरिएको छ । मुलुकमा प्रजातन्त्रका लागि भएका आन्दोलन र परिवर्तनका अगुवाइ कोशी प्रदेशले गरेको थियो । धेरै पटक मुलुकको बागडोर सम्हाल्न राजनीतिज्ञहरू थिए ।
पछिल्लो समय यिनै मध्येका सबैभन्दा बढी धार्मिक पक्षको आवाज कोशीबाट उठ्न थालेको छ । बेलाबेलामा विभिन्न धार्मिक गुरुबाट पनि सभा सम्मेलन हुने गरेको सुनिन्छ । जसले समाजबाट टाढा भएकालाई नजिक र पर पुगेका मानिसलाई वर-वर बनाउने गर्छ ।
वास्तवमा कोशी प्रदेशलाई विभिन्न जातजातिको संगमस्थल मानिन्छ । धार्मिक परम्परा अनुसारका मठ मन्दिर छन् । धार्मिक गुरुहरू पनि उत्तिकै मात्रामा रहेका छन् ।
गत आइतबार इलामको सन्दकपुर-४ को माहोल फरक थियो । किनभने त्यहाँ संगम थियो धार्मिक गुरु र राजनीतिज्ञको मिलन । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४० औँ जन्मजयन्तीका अवसरमा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका नेता तथा सांसद डा.शेखर कोइराला पनि पुगेका थिए ।
किरात धर्मगुरु आत्मानन्द लिङ्देनको निमन्त्रणामा इलाम पुगेका डा.कोइराला किराँत समुदायको उपस्थिति देख्दा उत्साहित देखिन्थे । किनभने किराँत समुदायको बाहुल्य रहेको स्थानमा राजनीतिज्ञ र धार्मिक गुरुको उपस्थिति नै रोचक थियो । अझ त्यो दिन भने कुनै राजनीतिक विशेष कार्यक्रम थिएन ।
नेपाली कांग्रेसभित्र कोइरालालाई धार्मिक आस्थावानको नेताको रुपमा चिनिन्छ । कतै भेटघाटमा पुग्दा पनि मन्दिर देखे भने ढोग्न पुग्ने उनको स्वभाव छ । अझ सोही दिन त उनी गुरुको निमन्त्रणमा इलाम पुगेका थिए ।
फाल्गुनन्दको जन्मजयन्तीमा उपस्थित सहभागीहरू डा. कोइराला र धार्मिक गुरु लिङ्देनबीच के कुराकानी हुन्छ भनेर जिज्ञासु देखिन्थे । उनले त्यहाँ धार्मिक गुरुलाई भेट्नुको साथै फाल्गुनन्दको शालिकसमेत अनावरण गरेका थिए ।
डा. कोइराला र लिङ्देनबीच केही समय कुराकानी पनि भएको थियो । राजनीति सुनेका तर प्रत्यक्ष सहभागी नभएका लिङ्देनले सत्ताको राजनीति भने बुझेका थिए ।
तिनै धार्मिक गुरूले एकपटक डा. कोइरालालाई मुलुकको बागडोर सम्हालेको हेर्न चाहेको आशय पोखिहाले । उनले इतिहासलाई सम्झँदै गिरिजाप्रसाद कोइरालाले मुलुकको सत्ता सम्हालेको कुरा पनि कोट्याए ।
मुलुकमा कोइराला परिवारले प्रजातन्त्र देखि लोकतन्त्रको आरोह र अवरोहसमेत देखेको तथा भोगेका दृष्टान्त पेश गरेका थिए । उनले कोइरालालाई लक्षित गर्दै गिरिजा जस्तै मुलुकमा शासनसत्ता सम्हाल्न शुभेच्छा प्रकट गरेका थिए ।
निराश हुँदै गुरु आत्मानन्दले गिरिजाप्रसादपछि मुलुकले अभिभावक पाउन नसकेको बताएका थिए । उनले त्यहीँ बेला आशीर्वाद दिँदै डा. कोइरालाको काँधमा हात राख्दै लिङ्देनलले भने, ‘गिरिजाप्रसादपछि मुलुकले अभिभावक पाएन। त्यसको कार्यभार तपाईँले सम्हाल्नुपर्छ।‘
लिङ्देनले डा. शेखरलाई देशको अभिभावक बन्नुपर्ने बताए । देश र जनताको अभिभावकत्व ग्रहण गरी गिरिजाप्रसादको तृष्णा मेट्नुपर्ने उनले धारणा व्यक्त गरेका थिए । धर्मगुरुले डा. कोइरालालाई स्वागत गर्दै भनेका थिए, ‘तपाईँमा गिरिजाप्रसादको झल्को आयो। देश र जनताको अभिभावक बन्न काँध बलियो बनाउनुहोस्।’
लिङ्देनले डा. कोइरालातर्फ संकेत गर्दै तपाईँजतिको स्वच्छ मानिस अर्को नभएको बताएका थिए ।
त्यसदिन कोइरालाले नेपाल सबै धर्म, कला र संस्कृतिको साझा संगमस्थल रहेको बताएका थिए । नेपालीहरूले विविधतामा एकता कायम राख्दै आफ्नो पहिचान, संस्कृति परम्पराको अनुपालन गर्दै आइरहेको उनले उल्लेख गरेका थिए ।
उनले भनेका थिए ,’ सामूहिक भाववाट उत्पन्न एकता, शक्ति निर्माण र सामूहिक प्रगतिको भावनाले “नेपाली राष्ट्रियता” निर्माण भएको छ ।‘
लोकतान्त्रिक व्यवस्थामा प्रत्येक जातजातिलाई आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा र साहित्यको जगेर्ना तथा विकास गर्ने अधिकार हुने धारणा व्यक्त गरेका थिए । राज्यले अरूको संस्कृतिलाई संरक्षण गर्नुपर्ने दायित्वबाट भाग्न नहुने पनि बताएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया