बंगलादेशमा आजदेखि विद्युत् निर्यात हुने खबरले हर्षित छु : प्रचण्ड
फाइल तस्बिर
काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुन थालेको खबरले हर्षित बनाएको बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा यस्तो बताएका हुन् ।
नेपालले बंगलादेशलाई आजदेखि ४० मेगावाट बिजुली बेच्दैछ । २०८० सालमा तत्कालिन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्न दिन भारत सरकार सहमत भएको थियो ।
'आज पहिलो पटक नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुन थालेको खबरले हर्षित बनाएको छ । २०८० जेठमा प्रधानमन्त्रीको रुपमा भएको मेरो भारत भ्रमणका क्रममा नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्न दिन भारत सरकार सहमत भएको थियो' प्रचण्डले भनेका छन् 'त्यसपछि आवश्यक प्रक्रिया पूरा गर्दै आज बङ्गलादेशमा विद्युत् निर्यात हुन थालको हो । विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु ।'
नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने सम्झौतामा छ । सोहि अनुसार नेपालले यस वर्ष शुक्रबार एक दिन मात्रै बंगलादेशलाई बिजुली बेच्दैछ । त्यसपछि बंगलादेशलाई बिजुली बेच्न अर्को वर्ष कुर्नु पर्नेछ । नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै बिजुली बेच्न पाउनेछ ।
बंगलादेशलाई बिजुली बेच्दा मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुनेछ । कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट बिजुली निर्यात हुने प्राधिकरणले जनाएको छ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ ।
गत असोज १७ मै नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौता भए पनि भारतको स्वीकृति नआएकाले ढिलाई भएको थियो ।
सम्झौता हुँदा यसैवर्ष एक दिन भए पनि बिजुली बिक्री गर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका थिए । सोहिअनुसार बिजुली बिक्री गर्न लागेको हो । ६ वर्षको गृहकार्यपछि भएको नेपाल र बंगलादेश विद्युत् बिक्री सम्झौता(पीएसए) कार्यान्वयनमा आउने भएको छ ।
प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायककम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बिक्री गर्ने जनाएको छ ।
भारतको बजारमा बिजुली बिक्री गर्न २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाले यसअघि नै स्वीकृति पाइसकेको छ ।
नेपालले डलरमा विद्युत् बिक्री गर्न लागेको पहिलो पटक हो । नेपालले हाल भारतसँग भने भारतीय रुपैयाँमै कारोबार गर्दै आएको छ ।
नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश निर्यात हुनेछ । त्यसका लागि विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । त्यसैले ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नुपर्नेछ ।
मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश पुग्नेछ ।
बंगलादेश निर्यात हुने बिजुलीको मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । अर्थात् बंगलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्ने भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया