दल

रास्वपाको केन्द्रीय समिति बैठकले के के निर्णय गर्यो ?

इकागज |
मंसिर ५, २०८१ बुधबार २०:४९ बजे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारीमा गरेको बचत फिर्ताको माग राखी सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले राजधानीमा गरेको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी दमनको घोर भर्त्सना गरेको छ ।

रास्वपाको आज सम्पन्न केन्द्रीय समितिको बैठकले सहकारी पीडितले राजधानीमा गरेको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी दमनको घोर भर्त्सना गरेको हो । यस प्रदर्शनमा रास्वपाले एक्यबद्धता जनाएको थियो ।  


रास्वपाले भनेको छ- 'आमनागरिकले पाइपाइ गरेर जम्मा गरेको बचत रकम फिर्ताको विशुद्ध उद्देश्यले आफ्ना आवाज बुलन्द गर्ने नागरिकको नैसर्गिक अधिकार हो । पीडित सर्वसाधारण नागरिकका हक प्राप्तिमा प्रभावकारी कदम चल्नुको सट्टा उठेको आवाज दबाउने कार्य सरकारको अधिनायकवादी कदम हो । यसले सरकार नागरिकका समस्याप्रतिको असंवेदनशीलता प्रदर्शन गरेको छ । तसर्थ सहकारी पीडितका मुद्दा समाधान तथा दोषी उपर अविलम्ब कानुनी कारबाहीका लागि प्रभावकारी कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं ।'

साथै रास्वपाको बैठकले पार्टीले दोस्रो चरणको आन्दोलनको तात्कालिक स्वरूप स्थानीय निर्वाचनसँग सम्बन्धित अभियानका माध्यमबाट अगाडि बढाउने र गत कात्तिक २४ गतेको केन्द्रीय समितिको निर्णय बमोजिम आसन्न स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा स्थानीय जन जीविकाका समस्या, राजनीतिक प्रतिशोध र सहकारी, लघुवित्त, मिटरब्याज पीडित, भ्रष्टाचारका काण्डहरूको छानबिन, अर्थतन्त्र र युवा बेरोजगारी, प्रवास, संविधान संशोधन लगायतका राष्ट्रिय मुद्दाहरूको स्थानीयकरणमा केन्द्रित हुने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

त्यस्तै रास्वपाले केही दिनयता सम्माननीय प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जोडिएको विवादास्पद विषयमा केही व्यक्तिहरूसमेत पक्राउ भएको सन्दर्भमा सत्य तथ्य छानबिन गरी वास्तविकता प्रकाशमा ल्याउन सरकारसँग माग गरेको छ ।


Author

थप समाचार
x