बागमती प्रदेशसभामा सरल सहयात्रीको दुई वर्ष
काठमाडौं- सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं १ 'ख' बाट बागमती प्रेदश सभामा प्रत्यक्ष निर्वाचित सांसद सरल सहयात्री पौडेलले कार्यकालको दुई वर्ष पूरा भएको अवसरमा प्रगति प्रतिवेदन सार्वजनिक गरेका छन्।
प्रतिवेदनमा नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्षसमेत रहेका पौडेलले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास र नीतिगत सुधारलाई आफ्नो प्राथमिकतामा राख्दै जनताको आवश्यकता पूरा गर्न विभिन्न महत्वपूर्ण योजनाहरू कार्यान्वयनमा ल्याएको बताएका छन्।
प्रदेशसभामा सक्रिय योगदान दिँदै, पौडेलले दीर्घकालीन विकास र संघीयताको मर्मअनुसार नीतिगत सुधारलाई प्रमुख लक्ष्यका रूपमा अगाडि सारेको प्रतिवेदनमा उल्लेख छ । भौतिक विकाससँगै मानव विकासलाई सुदृढ बनाउन शिक्षा क्षेत्रको सुधार अपरिहार्य भएकोले यस क्षेत्रलाई विशेष ध्यान दिइएको उनको भनाई छ। बजेट र योजनामार्फत शिक्षालाई रोजगारमूलक र गुणस्तरीय बनाउन पहल गरिएको पौडेलले बताएका छन् ।
स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न विभिन्न नीतिगत सुधार गरिएको विवरण प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहका स्वास्थ्य संस्थाहरूलाई सुदृढ बनाउन तथा आवश्यक औषधि र जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको, स्वास्थ्य सेवा सुधारका लागि प्रदेश सभाले स्वास्थ्य सेवा ऐन २०७९ पारित गरेको र यसलाई कार्यान्वयनमा ल्याउन सुरु गरिएको सांसद पौडेलले जानकारी दिएका छन्।
रोजगारी सिर्जना र स्थानीय उत्पादन प्रवर्द्धनका लागि कृषि, पर्यटन र साना उद्यमहरूलाई प्रोत्साहन गर्दै, नेपाली कृषिलाई आधुनिक प्रविधिसँग जोड्ने योजनाहरू अघि बढाइएको छ। यस्तै, स्थानीय उद्योगहरूको विकास र रोजगारीका अवसरहरू विस्तार गर्न नीतिगत पहलहरू गरिएको उनले फेसबुक मार्फत सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
यस अवधिमा बागमती प्रदेश सभाले १३ वटा कानुन पारित गरेको छ। यसमा निजामती सेवा ऐन संशोधन विधेयक, स्वास्थ्य सेवा सुधार विधेयक, र सडक पूर्वाधार विकास ऐन जस्ता कानुनहरू प्रमुख छन्। यसका साथै स्थानीय तहको बजेट व्यवस्थापन र स्वायत्तता सुनिश्चित गर्ने कानुनी पहलहरू पनि अगाडि बढाइएका छन्।
सांसद पौडेलले सिन्धुपाल्चोक क्षेत्रको पूर्वाधार विकासलाई तीव्र बनाउन विभिन्न सडक निर्माण परियोजनाहरू अघि बढाएको उल्लेख गरेका छन्। मेलम्ची–बोगेटार–चौतारा सडक, सुकुटे–मेलम्ची–चौतारा सडक, र बलेफी–मानेभन्ज्याङ्ग सडक निर्माणलगायतका परियोजनाहरू प्राथमिकतामा राखिएको छ। प्रदेशसभामा दीर्घकालीन रणनीतिक योजनालाई प्रोत्साहन गर्दै जनताको दीर्घकालीन हितका लागि आवश्यक आधारभूत संरचनाको निर्माणमा आफ्नो निरन्तर प्रयास जारी रहेको पौडेलले बताएका छन्। सामाजिक र सांस्कृतिक रूपान्तरणमार्फत संघीयतालाई सुदृढ गर्ने उद्देश्यले नीतिगत सुधारहरूलाई निरन्तरता दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।
उनले आफ्नो दुई वर्षे कार्यकालको प्रगतिलाई जनताको सुझाव र प्रतिक्रियामा आधारित बनाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा पनि शिक्षा, स्वास्थ्य, रोजगारी, र पूर्वाधार विकासलाई अझ प्रभावकारी बनाउन निरन्तर लागिरहने वाचा गरेका छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया