दल

हाम्रो पार्टीले अघि सारेका एजेन्डा र अभियान जनताले अनुमोदन गरे : प्रचण्ड

इकागज |
मंसिर १८, २०८१ मंगलबार १४:४८ बजे

फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  विभिन्न स्थानमा बनेका गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई आफ्नो पार्टीले उच्च सम्मान गर्ने बताएका छन् ।  यसबाट आफ्नो पार्टीले अघि सारेका एजेन्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको अध्यक्ष प्रचण्डले बताएका हुन् ।

एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ सङ्कल्पको रूपमा लिएको थियो । खास गरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई जनस्तरसम्म पुर्‍याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रूपमा उपनिर्वाचनलाई लिएका थियौँ । निर्वाचित जनप्रतिनिधिको सङ्ख्या र जनमत दुवै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ ।’


यो उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई पार्टीले आफ्नो एजेन्डा र आफ्नै एकल पहिचानका साथ प्रतिस्पर्धा गर्न प्राप्त गरेको जनादेशको रूपमा लिने प्रचण्डको भनाई छ । यो अपार जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने समेत उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।    

‘नेपाली जनताले गरेका विभिन्न आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन, फेरिएको व्यवस्थाअनुरुप जनताको अवस्था बदल्न र राज्यबाट हुने सेवा प्रवाहलाई सरल र सहजरुपमा जनताको घरदैलोमा पुर्‍याउने महत्त्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा छ । हाम्रो पार्टीले नेतृत्व गरेका स्थानीय तहहरूले उत्कृष्ट कार्य सम्पादन गर्दै आएका छन्, आगामी दिनमा यसलाई बढाउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेन्डामा केन्द्रित रहेर हाम्रा सबै जनप्रतिनिधिलाई पूर्णरुपमा जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध रहेको छ,’ उनले भनेका छन् ।

प्रचण्डले स्थानीय तह उपनिर्वाचन २०८१ मा हाम्रो पार्टीलाई अमूल्य मतदान गर्ने सम्पूर्ण मतदाताहरूप्रति आभार व्यक्त गरेका छन्। उनले निर्वाचित सबै जनप्रतिनिधिहरूलाई हार्दिक बधाई ज्ञापन पनि गरेका छन् । 

उनले भनेका छन्, ‘निर्वाचनमा अहोरात्र खट्ने हाम्रो पार्टीका नेता कार्यकर्ता, हाम्रो पार्टीलाई माया गरी जनमत निर्माणमा योगदान गर्ने सम्पूर्ण तह र तप्काका जनसमुदाय तथा निर्वाचन सफल पार्न भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी,सुरक्षा निकाय र सञ्चार क्षेत्रलाई धन्यवाद ज्ञापन गर्दछु ।’


Author

थप समाचार
x