जब शेखर कोइरालासँग विराटनगरमा सिंगो पार्टी डरायो...
'तपाईंहरू निस्फिक्रि भएर घर जानुस्, तपाईंहरूको संरक्षण म गर्छुु'
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपाबाट सोमबार एउटा सूचना जारी भयो । जसमा लेखिएको थियो ‘कोसी प्रदेशका सबै जिल्ला कार्यसमितिका नाममा पत्र पठाइ मंसिर २२ गते पूर्व कोसी प्रदेश स्तरीय पालिका सभापतिहरूको भेला भनि प्रचारित कार्यक्रममा सहभागी हुनुपर्ने/नपर्ने स्पष्टताका लागि जिल्ला सभापतिहरूबाट केन्द्रमा सम्पर्क गरेकोले, मंसिर २२ पूर्व प्रदेश स्तरीय पार्टीको कुनै पनि कार्यक्रम छैन ।‘
यद्यपी मंसिर २२ मा निर्धारित स्थानीय तहका सभापतिहरूको भेलाबाहेक अन्य कुनै कार्यक्रम नरहेको भन्दै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोशीका सबै जिल्ला सभापतिलाई पत्र पठाए पनि कोइराला समूहको कार्यक्रम भएर छाड्यो ।
डा.शेखरसमूहको कार्यक्रम रोक्न पार्टी पदाधिकारी नै लागेका थिए । अझ भनौं शेखर समूहमा प्रस्टसँग खुलेका महामन्त्री गगन कुमार थापाले विराटनगरको कार्यक्रम रोक्न अगुवाइ गरेका थिए । महामन्त्रीद्वय थापा र शर्माको निर्देशनमा पत्र तयार भएको थियो र बिरामी भएका मुख्यसचिव पौडेलले हस्ताक्षर गरेका थिए ।
तर, केन्द्रीय कार्यालयले यस्तो सूचनाको गर्नुको भित्री अन्तर्य भने अर्कै थियो । कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले कोशी प्रदेशका पालिका सभापति स्तरीय भेला गर्ने मिति सार्वजनिक गरिसकेकाले सोही कार्यक्रमलाई रोक्नु थियो ।
कार्यक्रममा सबै जिल्ला सभापति, क्षेत्रीय सभापतिहरूलाई निमन्त्रणा गरेको थियो । यो भेलाले पार्टीभित्र कोइराला समूहले लोकतन्त्रको भरपूर उपयोग गरेको देखिन्छ । त्यसैको दृष्टान्त विराटनगरको जैन भवनको परिसरमा आज दिउँसो भएको भेलाले देखाएको थियो । तर, कोइराला पक्षले पूर्व निर्धारित कार्यक्रम गरेर छाड्यो ।
केन्द्रीय कार्यालयको परिपत्रलाई बेवास्ता गरेर शेखर समूहका नेता तथा कार्यकर्ताको बाक्लै उपस्थिति देखिन्थ्यो । पार्टीले भनौँ वा सभापति शेरबहादुर देउवाले रोक्न खोजेको कार्यक्रम आज भएर छाड्यो यसलाई भनिन्छ लोकतन्त्रको जीत ।
रोचक पक्ष के छ भने पार्टीको प्रदेश कार्यसमितिमा भने कोइराला इतरका सभापति छन् । पार्टी भित्र पनि कोशी प्रदेशमा कोइराला समूहको पकड रहेको मानिन्छ । अझ यसलाई कोइराला समूहले नजिकिदै गरेको महाधिवेशनलाई लक्षित शक्ति प्रदर्शन भनौँ वा रणनीतिको रुपमा गरेको बुझ्न सकिन्छ ।
डा. कोइरालाले पटक-पटक सार्वजनिक कार्यक्रम वा कार्यकर्तामाझ पुनः सभापतिको लागि उम्मेदवारी बन्ने घोषणा गरिसकेका छन् । विराटनगरमा मंगलबार भएको भेलाले पनि सभापतिका लागि सक्षम र पार्टीभित्र लोकतन्त्र छ भन्ने संकेत गरिरहेको छ ।
कार्यक्रममा संस्थापन इतर पक्षका सहभागी उल्लेख्य मात्रामा थियो । कार्यक्रममा सहभागी एक नेताले यस्तो भेलाले पार्टीलाई थप मजबुत बनाउने र लोकतन्त्रको शोभा बढ्ने बताए । पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढीकरण गर्न सहयोग पुर्याउने उनको भनाइ छ ।
एक-अर्काको कार्यक्रम रोक्न खोज्नु कुनै पनि तुक नरहेको उनले प्रस्ट पारे । सबैलाई भेला हुने अधिकार रहेको उनको भनाइ छ । अझ पार्टी तथा नेताले यस्ता कार्यक्रम आयोजना गर्दा पार्टीलाई फाइदा पुग्ने धारणा उनले राखे ।
आफ्नो पक्षको भेलामा आएका पालिका अध्यक्षहरुलाई भय नराख्न आग्रह गर्दै संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे । भेलामा शेखर कोइरालाले कुनै किसिमको डर, धाक, धम्कीबाट उहाँहरु नआत्तिनु आग्रह गरे ।
‘तपाईंहरू निस्फिक्रि भएर घर जानुस् । तपाईंहरूको संरक्षण म गर्छु,’ उनले भने । आज लागि तय भएको कार्यक्रम धेरै पहिले नै टुंगो लगाएकाले विवाद गर्नुपर्ने विषय नरहेको उनले बताए । विराटनगर र सुनसरी बाहेकका पालिका सभापतिलाई अलि टाढा रहेकाले प्रशिक्षणको उद्देश्यले भेला डाकिएको उनले सुनाए ।
पालिका र महानगरका सभापतिका लागि विधान अधिकार खुम्चिएको र उनीहरूको माग सम्बोधन गर्न तयार रहेको कोइरालाको भनाइ छ । महानगरपालिका सभापतिहरूलाई माग आफूलाई ज्ञान भएको उनले उल्लेख गरे । ‘उहाँहरूले मागेको भन्दा पनि केही कुरा दिन सकिन्छ भने दिऔं भनेको छु । उहाँहरूलाई दिन्छौं/गर्छौं भन्ने कुरा विश्वास दिलाउन चाहन्छु,’ उनले अगाडि थपे ।
‘त्यसको लागि कल्लो के रोकेको छ? र, किन भइराखेको छैन,’ शेखरले भने । १५ औं महाधिवेशनबाट गलत कुरा हुन नदिने र कार्यकर्ताको संरक्षण आफूले गर्ने जिम्मेवारी लिने बताए ।
नेता शेखरले २०८३ को मंसिरसम्म १५ औं महाधिवेशन हुने सम्भावना नदेखेको बताए । अधिवेशनमा समयमा हुनुपर्छ भनी गाउँ गाउँमा भन्नु जरुरी र दबाब सिर्जना गर्नुपर्ने अवस्था रहेको बताए । ‘क्रियाशील सदस्यताको अहिले जुन भइरहेको छ । यो तरिकाले अधिवेशन समय हुने सम्भावना छैन,’ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया