रास्वपा भलिबलको बल हो, जति हिर्कायो उति माथि जान्छ
फाइल फाेटाे
भक्तपुर - राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरूले रातो क्रान्तिमा जाने चेतावनी दिएका छन् ।
पार्टीको भक्तपुर जिल्लाको ऐतिहासिक प्रथम जिल्ला भेलाका विषयमा बिहीबार भक्तपुरमा भएको पत्रकार सम्मेलनका वक्ताहरुले यस्तो चेतावनी दिएका हुन् ।
पार्टी भक्तपुर जिल्लाका संयोजक रामेश्वर बस्नेतले आफूहरूको क्रान्ति निलो क्रान्ति भएको तर यही तरिकाले पार्टीमाथि दमन भइरहे आफूहरूको क्रान्ति निलोबाट रातोमा जाने चेतावनी दिए ।
उनले जिल्ला भेला शुद्ध भेला मात्रै होइन, आन्दोलनसमेत भएको बताए । उनले भेला शक्ति प्रदर्शन पनि रहेको बताए । भेलामा भक्तपुरका प्रत्येक वडाहरूबाट जनता स्वतस्फुर्ट उर्लने दावी उनले गरे ।
भक्तपुरमा चार वटा नगरपालिकाहरू भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण छन् । ती नगरपालिकाहरूमा कुल ३८ वटा वडाहरू छन् । भेलामा एउटा वडाबाट पार्टीमा आधिकारिक रुपमा आबद्ध मात्रै घटीमा ५० पचास जना सहभागी हुने जिल्ला सभापति बस्नेतले दावी गरे ।
भेलालाई पार्टीका उपसभापति डिपी अर्याल, सोविता गौतम, विराज भट, सन्तोष परियारलगायतले सम्बोधन गर्ने जनाइएको छ ।
सम्मेलनमा युवा नेता साजन विकले पार्टी सभापति रवि लामिछानेलाई समाप्त पार्न सरकार लागिपरेको भन्दै एकजना रविलाई सकाउन खोज्दा रास्वपामा हजारौं रविहरू जन्मिसकेको बताए ।
सहकारीको ८७ अर्व अपचलनलाई देखाएर ६५ करोडको अपचलनमा सरकार केन्द्रित भएको उनको भनाई थियो । उनले पार्टी वर्तमान ठूला भनिएका दलहरूको विकृति र विसंगतिको विरुद्ध जन्म भएको कोट्याउंदै पछिल्लो संसदीय निर्वाचनमा २१ जना भ्रष्टलाई रोक्न सफल भएको दावी गरे ।
रास्वपाका २१ जना सांसद निर्वाचित भएकाले २१ जना अन्य भ्रष्टहरूलाई रोक्न सफल भएको उनको भनाई थियो ।
उनले रास्वपा भलिबलको बल हो, जति थिच्यो उति माथि जान्छ, उति ठूलो हुन्छ भने । साथै उनले देश भ्रष्टाचारमुक्त हुन्छ भने पार्टी र पार्टी नेताहरू सकिन तयार भएको पनि प्रष्ट पारे । अहिलेको सरकारले जनतालाई सुशासन दिन नसकेको तर देश लुटेर खानेहरूले भने मज्जाले सुशासन पाइरहेको भनाई उनले राखे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया