सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको अन्तिम तयारी
फाइल फोटो
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनको अन्तिम तयारीमा सरकार रहेको बताएका छन्।
म्याग्दीमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै ज्ञवालीले राजनीतिक सहमतिको आधारमा निर्माण भएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी ऐन कार्यान्वयनका लागि आयोगको पदाधिकारी चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताए।
‘सिफारिस समितिले आयोगका पदाधिकारीको छनोट गरेर सूची सार्वजनिक गर्ने छ। एक-दुई दिनमा आयोग गठन गर्ने सरकारको तयारी छ। आयोग गठन भएपछि २० वर्षदेखि थन्किएर रहेका शान्ति प्रक्रियाका बाँकी कामले पूर्णता पाउने, पीडितले न्याय पाउनेछन्,’ उनले भने।
सरकारले सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न शक्तिशाली नियमनकारी निकायको गठन र बचतको सुरक्षाका लागि कर्जा सुरक्षण कोष बनाउने तयारी गरिरहेको पनि उनले बताए।
‘सहकारी संस्थामा विकृति र बेतिथि मौलाएको महसुस गरेर नियमनकारी निकाय बनाउने तयारीसँगै र जोखिममा परेकाको बचतलाई फिर्ता गराउने काममा सरकारले प्राथमिकता दिएको छ। सहकारीको बचत अपचलनमा जोडिएका जोसुकै पनि अनुसन्धानको दायरामा आउँछन्,’ उनले भने।
कानुन कार्यान्वयन गर्ने निकायलाई स्वतन्त्र ढङ्गले काम गर्ने दिनुपर्नेमा उनले जोड दिए।
सरकारले विश्वका सबै देशसँग सन्तुलितसम्बन्ध स्थापित गराउने प्रयास गरिरहेको नेता ज्ञवालीको धारणा छ। प्रधानमन्त्रीको चीन भ्रमणले सात वर्षअघि भएको बिआरआई सम्झौता कार्यान्वयनमा अघि बढेको उनले बताए।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया