दल

काँग्रेस नेता घिमिरेले अनामनगरमा स्थापना गरे सम्पर्क कार्यालय

इकागज |
मंसिर २७, २०८१ बिहीबार १४:३८ बजे

नेपाली काँग्रेसका युवा नेता गुरु घिमिरेले काठमाडौँको अनामनगरमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् । बिहीबार एक कार्यक्रमको आयोजना गरेर युवा नेता घिमिरेले अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेका हुन् ।

नेपाली काँग्रेसको १५ औँ महाअधिवेशनलाई केन्द्रित गर्दै सम्पर्क कार्यालयको स्थापना गरिएको नेता घिमिरेले बताए ।


सम्पर्क कार्यालयको स्थापना गर्दै नेता घिमिरेले कुनै नेताको मान मर्दन गर्ने, भक्ति गाथा गाउने उद्देश्य आफ्नो नरहेको बताए ।

उनले पार्टीका नेता, शक्ति र सबै कार्यकर्ताको भावनालाई जोडेर एकताबद्ध प्रयास गर्नका लागि सम्पर्क कार्यालयको स्थापना गरिएको बताए ।

‘कुनै नेतालाई मानमर्दन गर्ने, नेताको भक्ति गाथा गाउने भन्ने मानसिकता हाम्रो छैन,’उनले भने,‘समग्रमा नेतालाई एक ढिक्का बनाएर, पार्टीको शक्तिलाई एक ढिक्का बनाएर पार्टीका सबै साथीहरूको भावनालाई जोडेर एकताबद्ध प्रयास अगाडि बढाउने हाम्रो प्रयास हो ।’

उनले २०८२ मङ्सिरसम्ममा पार्टीको सम्पूर्ण शक्ति महाधिवेशनमा लगाउने र समय भित्रै महाधिवेशन सम्पन्न गर्ने कुरामा केन्द्रित हुनुपर्ने बताए ।

उनले भने– ‘२०८२ मङ्सिरसम्ममा हाम्रो सम्पूर्ण शक्ति पार्टी महाधिवेशनमा लगाउने र समय भित्रै महाधिवेशन सम्पन्न गर्ने कुरामा हामी केन्द्रित हुनुपर्छ । यसै सम्बन्धमा नै नेपाली काँग्रेसको १५ औँ महाअधिवेशन केन्द्रित सम्पर्क कार्यालयको शुभारम्भ गरिएको हो ।’

उनले यस सम्पर्क कार्यालयबाट पार्टीमा केही सकारात्मक प्रभाव पर्ने विश्वास लिएको बताए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले टाउको बनौला भनेर राजनीतिमा लागेको तर सधैँ पुच्छर मात्र बन्न पुगेको टिप्पणी गरे ।

‘म कसैको पुच्छर होइन , सिङ्गो टाउको हु’ भन्ने थलो महाअधिवेशन केन्द्रित सम्पर्क कार्यालय होस् भन्ने चाहेको सांसद भण्डारीले बताए ।

उनले पार्टीका सबै नेताहरूमा मुलुकलाई बनाउनु पर्छ भन्ने सोचको विकाश गर्नुपर्ने बताए ।

उनले माओवादी कालमा थुप्रै काँग्रेसका कार्यकर्ता मारिएको र लखेटिएको भन्दै तिनले के पाए ? भनेर प्रश्न समेत गरे । उनले सही मान्छेलाई सही ठाउँमा ल्याउन नसकेको भन्दै चिन्तन र छलफल गर्ने थलो सम्पर्क कार्यालय बनोस् भन्ने इच्छा प्रकट गरे ।

‘तपाइहरू सित धेरै ठुलो आशा छ । अब युवाहरूले म पुच्छर होइन, शिर हु भन्ने धारणा राखेमा मात्र मुलुक बन्छ । पुच्छरको काम माखा धपाउने हो,’उनले भने ‘आजको यो १५ औँ महाअधिवेशनको विचार चिन्तनको थलोले पुच्छर होइन हामी आफैबाट टाउको निस्कन्छौँ । यही धारणा भइएमा बल्ल सफल हुन्छौँ । नत्र भइदैन् ।’

सांसद भण्डारीले युवाहरूसँग ठुलो आशा राखेको बताए ।


Author

थप समाचार
x