दल

रास्वपाको कार्यवाहक सभापतिमा अर्याल

इकागज |
पुस ८, २०८१ सोमबार १७:३३ बजे

फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले पाएका छन् । रवि लामिछानेलाई सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि उपसभापति अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन् ।

सोमबार बसेको सचिवालय बैठकले उनलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो । सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले रवि लामिछाने, डीपी अर्याल र स्वर्णिम वाग्लेको सहमतिमा अर्याल कार्यवाहक सभापति बनेको जानकारी दिए ।


‘सभापतिज्यूले ६ गते नै कार्यवाहकको लागि निर्णय गरेर नोट पठाउनुभएको थियो,’ भर्चुअल बैठकपछि सहमहामन्त्री बुर्लाकोटीले भने, ‘सभापति रवि लामिछाने र उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेबीचको सहमतिमा कार्यवाहक सभापतिको टुंगो लगाएका छौं । डीपी अर्याल कार्यवाहक सभापति बन्नु भएको छ ।’

२०८१ कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध आइतबार सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको थियो । कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि प्रहरीले लामिछानेलाई सांसदबाट निलम्बन गर्न आग्रह गर्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ ।


Author

थप समाचार
x