दल

रविसहितलाई प्रतिवादी बनाएर काठमाडौँ प्रहरीले बुझायो प्रतिवेदन

इकागज |
पुस १८, २०८१ बिहीबार १७:३० बजे

फाइल फाेटाे

काठमाडौं - कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायतका विरुद्धमा अदालतमा बहस चलिरहँदा काठमाडौंमा पनि मुद्दा प्रकिया अघि बढ्ने भएको छ । 

कालिमाटी, काठमाडौंस्थित रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे लामिछानेसहित अन्य आरोपी माथिको अनुसन्धान सकेर प्रहरीले आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको हो ।


प्रहरी प्रतिवेदनअनुसार स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो । सो सहकारीको रकम हिनामिना भएको ठहर गर्दै लामिछानेसहित ४४ जनासँग १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपितहरु लामिछाने, गोर्खा मिडियाका पूर्व सञ्चालक एवं नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, सहकारीका कोषाध्यक्ष कुमार रम्तेललगायत ५ जना अहिले प्रहरी हिरासतमा थुनामा छन्, थप केही भने अझै फरार छन् ।

पोखरामा थुनछेक र जवाफी बहस चलिरहँदा पक्राउ नपरेका अन्य प्रतिवादीलाई फरार सूचीमा राखेर प्रहरीले प्रतिवेदन पेश गरेको जनाइएको छ । 

लामिछानेसहितलाई कास्कीमा झै काठमाडौंमा पनि सहकारी ठगी, किर्ते र संगठित अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको बुझिएको छ ।
 


Author

थप समाचार
x