राप्रपा नेपालद्वारा दिव्योपदेशलाई ‘पृथ्वीपथ’को रूपमा अंगीकार
काठमाडौं - कमल थापा नेतृत्वको राप्रपा नेपालले दिव्योपदेशलाई पृथ्वी पथको रूपमा अंगीकार गर्ने भएको छ ।
आज सम्पन्न केन्द्रीय समिति बैठकले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले दिएको दिव्योपदेशलाई ‘पृथ्वी पथ’ रूपमा अंगीकार गर्ने भएको हो ।
‘पार्टीले अवलम्बन गरिरहेको सम्बर्धनवादको वैचारिक दर्शनको धरातलमा नेपाल एकीकरणका नायक राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको मार्गदर्शन र दिव्योपदेशलाई राप्रपा नेपालले ‘पृथ्वीपथ’को रूपमा अंगिकार गर्नेछ’ केन्द्रीय समितिको निर्णयमा भनिएको छ।
राप्रपा नेपालले प्रत्येक वर्ष पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा विशेष कार्यक्रम गर्दै आएको छ । यसपटक पनि पुस २७ मा बालुवाटारमा विशेष कार्यक्रम गर्दैछ ।
त्यसो त आज सम्पन्न केन्द्रीय मिति बैठकले २०८२ मंसिर १३–१५ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ भने बैठकले राजनीतिक कार्यपत्र, संगठन विभागको प्रतिवेदन, तराइ मधेस उत्थान अभियान सम्बन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदन पारित गरेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सट्टा जनलोकपाल गठन गर्नु पर्ने उसले आफ्नो माग अघि सारेको छ । ‘भ्रष्टाचारलाई जरै देखी उन्मूलन गर्न अहिलेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सट्टा ‘जनलोकपाल’को अवधारणामा आधारित सम्पन्न संबैधानिक निकायको व्यवस्था गर्न राप्रपा नेपाल माग गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी, राप्रपा नेपालले सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले मुलुकलाई ‘टु पार्टी सिस्टम’मा लैजान लागेको भन्दै असहमति जनाएको छ । ‘सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले आफूलाई चुनौती दिने र प्रतिस्पर्धामा आउन नसक्ने दलहरूलाइ निषेध गरी कथित दुई दलीय व्यवस्था कायम गर्न संविधान र कानुनमा संशोधन गर्ने प्रयास गरीरहेको देखिन्छ,’ राप्रपाको निर्णयमा भनिएको छ, ‘समानुपातिक र समावेशी मान्यतालाई कमजोर बनाउने तथा समानुपातिक निर्वाचनको थ्रेस होल्ड बढाएर साना र उदयीमान दलहरूको प्रतिनिधित्व शून्य बनाउन सत्तारूढ दलहरू उद्धत हेको समेत देखिन्छ, यस्तो प्रवृतिले प्रजातन्त्रलाई कमजोर बनाउने र निरंकुशताको पक्षपोषण गर्नेछ’ राप्रपाको निर्णयमा भनिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया