निर्वाचनमा उपलब्धिपत्र लिएर जनतामाझ जानुपर्छः महामन्त्री थापा
गण्डकी- नेपाली कांग्रेसका महामन्त्री गगनकुुमार थापाले २०८४ को निर्वाचनमा उपलब्धिपत्र लिएर जनतामाझ जानुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित ‘प्रजातान्त्रिक व्यवस्थामा पार्टी र जनप्रतिनिधि’ विषयक प्रदेशस्तरीय गोष्ठी उद्घाटन गर्दै उनले चुनावमा जाँदा उपलब्धिपत्र लिएर जानका लागि परिणाम देखाउने गरी काम गर्न निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे ।
महामन्त्री थापाले निराश हुनुपर्ने अवस्था नरहेको तर आगामी तीन वर्षमा जनताले अनुभूति गर्ने गरी क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याए । “कांग्रेसको नेतृत्वमा देशमा धेरै उपलब्धि हासिल भएका छन् तर ती कामको प्रचार हुन सकेको छैन । अब थप उपलब्धिका लागि जुनजुन तहको सरकारको जिम्मेवारीमा छौँ, त्यहाँ परिणाम दिनेगरी काम गर्नुपर्छ । तिनै कामको विवरण लिएर आगामी चुनावमा जाने अवस्था बनाउन सबै जिम्मेवारीपूर्वक काममा लागौँ”, उनले भने ।
पार्टी संगठन र निर्वाचित जनप्रतिनिधिबीच संवाद आवश्यक भएको बताउँदै महामन्त्री थापाले त्यसले जनअपेक्षा सम्बोधन गर्न सहयोग पुग्ने धारणा राखे । समस्या सुन्ने मात्र नभइ समाधान दिन सक्ने अवस्था सिर्जना गर्न संवादलाई बढावा दिनुपर्ने उनको भनाइ थियो ।
महामन्त्री थापाले पार्टीको काँधमा धेरै जिम्मेवारी रहेकाले आगामी १५औँ महाधिवेशनबाट आउने नेतृत्व पार्टी संगठन सम्हाल्न सक्ने हुनुपर्ने धारणा राखे । उनले आफ्नो निर्वाचन क्षेत्रमा कामै नगर्ने तर महाधिवेशनको मात्र कुरा गर्न अवस्था बनाउन आग्रह गर्दै आगामी चैतभित्र सदस्यता नवीकरण गर्न नेता कार्यकर्तालाई निर्देशन दिए । “चैत्र महिनाभित्र नवीकरण नगर्ने क्रियाशील सदस्यको सदस्यता त्यपछि नवीकरण हुनेवाला छैन । साथै क्रियाशील सदस्यता फाराम दिइएका जिल्लाले समयभित्र क्षेत्रलाई दिएन भने त्यो क्रियाशील फारम नम्बर फ्रिज गरिने छ । क्षेत्रले आफूभन्दा तलका समितिलाई नदिएमा सोहीअनुसार कारबाही हुनेछ”, महामन्त्री थापाले स्पष्ट पारे ।
पार्टीको विधान संशोधनका लागि करिब पाँच महिना लाग्ने र विधान महाधिवेशन गरेर तत्काल पारित हुने र त्यसकै आधारमा महाधिवेशनको प्रक्रिया प्रारम्भ हुने उनले जानकारी गराए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया