‘देश विकासका लागि सामाजिक र सांस्कृतिक रूपान्तरण हुनु जरुरी छ’
फाइल फाेटाे
दाङ - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले देश विकासका लागि सामाजिक र सांस्कृतिक रूपान्तरण हुन जरूरी रहेको बताएका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी दाङको आयोजनामा आज घोराहीमा भएको ‘नेपालको संविधान २०७२: दलित अधिकार तथा प्रभावकारी कार्यान्वयन’ विषयक अन्तरक्रियामा उनले त्यसका लागि दलित समुदायको आर्थिक, सामाजिक सशक्तीकरण र आम रूपमा सामाजिक जागरणको आवश्यकता रहेको बताए ।
महासचिव पोखरेलले धार्मिक, सामाजिक र सांस्कृतिक परम्पराले सिर्जना गरेको संकीर्ण सोचका कारण समाजमा उचनिजको व्यवहार हुने गरेको भन्दै यसलाई भत्काउन जरूरी रहेको बताए । उनले धर्मका नाममा हुने विभेदलाई चिर्नका लागि समाजिक आन्दोलन चाहिने जिकिर गरे । “संविधानमा लेखेर मात्रै यो समस्या समाधान हुँदैन । छुवाछूतजन्य व्यवहारमै परिवर्तन गर्न लाग्नुपर्छ”,महासचिव पोखरेलले भने,“गलत संस्कृतिलाई सामाजिक आन्दोलनका माध्यमबाट बदल्नुपर्छ । यसका लागि सबै लागौँ ।”
दलित समुदायका पुख्र्यौली पेसालाई आधुनिकीकरण गर्दै आर्थिक सशक्तीकरण गर्न सकेमा सामाजिक अवस्था सुधारमा योगदान पुग्ने उनको भनाइ थियो । “दलित समुदायले परम्परादेखि गर्दै आएका पेसामा नयाँ सोच र प्रविधिको उपयोग गर्दै रूपान्तरण गर्नुपर्छ । पेसाप्रति घृणा होइन गर्व गर्ने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता छ । आर्थिक रुपमा सबल र आत्मनिर्भर हुनसकेमा धेरै हदसम्म विगतको विकृत सोचमा परिवर्तन ल्याउँछ किनकि पछिल्लो समय आर्थिक रूपमा सम्पन्न व्यक्तिलाई सम्मान गर्ने परिपाटी विकास हुँदै गएको छ”, महासचिव पोखरेलले भने ।
मुक्ति समाज जिल्ला कमिटी दाङका अध्यक्ष शंकर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष नन्दलाल विश्वकर्मा, केन्द्रीय सदस्य भागवत विश्वकर्मा, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णबहादुर नेपाली, नेकपा (एमाले) दाङका उपाध्यक्ष मनोहर बुढाथोकीलगायतले सम्बोधन गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया