दल

रवि लामिछाने पुगे रूपन्देही अदालत

इकागज |
माघ १०, २०८१ बिहीबार १०:५० बजे

फाइल तस्बिर

बुटवल- पुर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अदालतमा उपस्थित भएका छन् ।

सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने हिजो हाजिरी जमानीमा रिहा भए पनि आजबाट हुने थुनछेक बहसका लागि उपस्थित भएका हुन् ।


हिजो रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेका थिए ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बुधबार रविको बयान सकिसकेको छ, आजबाट कानुन व्यवसायीहरूले थुनछेक बहसमा सहभागी हुनेछन् ।

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पुरक उजुरीमा राखिएको हो ।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनीमाथि उजुरी गरिएको हो ।

उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौँमा ६० लाख धरौटी बुझाएर छुटेका हुन् । बुटवलपछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।


Author

थप समाचार
x