दल

अहिलेको राजनीति सत्ता र पैसाको लागि हिँडिरहेको छ: डा कोइराला

इकागज |
माघ १४, २०८१ सोमबार १८:३४ बजे

विराटनगर - नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका हुन थालेको बताएका छन् । 

नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता,पैसाको पछि हिँडिरहेको टिप्पणी गरे । 


उनले तीनै तहको सरकारमा बसेको अधिकांश व्यक्तिहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भएको बताए । ‘अहिले राजनीतिलाई व्यावसायिकीकरण गरिँदैछ । राजनीति भनेको पेशा, व्यवसाय होइन सेवा हो,’ उनले थपे, ‘पैसै कमाउने हो अन्य थुप्रै विकल्पहरू छन् । तर राजनीति गर्नु भनेको समाजसेवा गर्नु हो ।’ जनप्रतिनिधिहरू लोभ र लालचमा फस्न नहुनेमा उनको जोड थियो ।  नेता कोइरालाले सरकारले संसदलाई पर सारेर अध्यादेश ल्याएकोमा आपत्ति जनाए । 

उनले संसद बस्ने समय नजिकिँदै गर्दा हतारमा अध्यादेश ल्याउँदा आमजनतामा आशंका देखिएको टिप्पणी गरे । ‘हतारहतार अध्यादेश ल्याउनुपर्ने कुनै जरुरी थिएन । अध्यादेशमा केही खोट छ कि, सरकारको केही स्वार्थ छ कि भन्ने आमजनतामा परेको छ,’ उनले भने, ‘संसदमै पेश गर्दा पनि कांग्रेस र एमाले मिल्दा झण्डै दुई तिहाईको संख्या छ । सजिलै पास हुन्थ्यो । संसद छलेर सरकारले जुन अध्यादेश ल्याएको छ त्यो ठीक भएन ।’ 

नोना कोइरालाको १८ औं स्मृति दिवसको अवसर आयोजित कार्यक्रममा कोइरालाले नोना कोइरालाले आफूलाई नैतिकता र इमान्दारिताको पाठ सिकाएको बताए । इमान्दारिता र नैतिकता नभए राजनीति गर्ने व्यक्ति कहिल्यै पनि अगाडि बढ्न नसक्ने उनको भनाइ थियो ।  


Author

थप समाचार
x