माओवादी केन्द्रका प्रदेश समिति इन्चार्ज तोकिए, कसले कहाँको जिम्मेवारी पाए ?
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेताहरूको कार्यविभाजन गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुलमटारमा आज बसेको पदाधिकारी बैठकले सात भौगोलिक र विशेष प्रदेश तथा प्रवास समितिमा इन्चार्जको जिम्मेवारी तोकेको हो ।
बैठकले कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल, मधेसमा उपमहासचिव मातृकाप्रसाद यादव, बागमतीमा सचिव हितमान शाक्य, गण्डकीमा सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणि खनाल, कर्णालीमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्जको जिम्मेवारी दिएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकले विशेष प्रदेशमा जयपुरी घर्ती, प्रवास (सार्क) मा लक्ष्मण पन्त, प्रवास (यूरोप–अमेरिका अन्तरसमिति) सचिव राम कार्की, प्रवास (एसिया) समितिमा केन्द्रीय सदस्य ओम शर्मालाई इन्चार्ज तोकिएको छ । महाचिवभन्दा माथिका पदाधिकारीले भूगोलको जिम्मेवारी नलिने निर्णय भएको उनले जानकारी दिए ।
यस्तै, माओवादी केन्द्रले आगामी फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आगामी फागुन ९ गते आफ्ना पार्टीका तर्फबाट विजयी स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए । माओवादीका तर्फबाट एक सय २३ पालिकामा प्रमुख उपप्रमुख विजयी भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया