पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक: कमल थापा

फाइल फाेटाे
काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान बिचार भएकाहरू सबै एकै ठाउँमा आएर आन्दोलनमा होमिनु पर्ने प्रस्तावप्रति राप्रपा अनुदार देखिनुलाई आफूले आश्चर्यजनक रूपमा लिएको बताएका छन् ।
आज पार्टीको लुम्बिनी, पश्चिमाञ्चल, सुदुरपश्चिमाञ्चल र कर्णाली क्षेत्रका पदाधिकारी,सदस्य र जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकमा बोल्दै थापाले अहिले एक/एक व्यक्तिको पनि महत्व र आवश्यकता भएको बेलामा सबै बिचार मिल्ने पार्टी ,समूह, अभियान एक ठाउँमा बसौं भन्दा राप्रपाले यो विषयलाई प्राथमिकता नदिनु अचम्मको रहस्य भएको समेत बताए ।
"उहाँहरुको आफ्नो केही आन्तरिक समस्या पनि हुन सक्ला, अब त्यो हामीले जान्ने कुरा भएन" थापाले भने ।
राप्रपासँग तत्काल एकता हुन नसकेता पनि एकताको ढोकालाई खुल्ला राख्दै अब बिचार मिल्ने अन्य अभियान ,समूह र पार्टीसङ्ग छलफल गरेर राप्रपा नेपाल आन्दोलनमा जाने उनले स्पष्ट पारे ।
"सिद्धान्त केन्द्रित भएर इमानदारीपूर्वक आन्दोलनमा जान तयार हुने सबैसङ्ग छलफल गर्छौ र आन्दोलनमा जान्छौ, अहिले एजेन्डा स्थापित गर्ने अनुकूल समय छ"- उनले भने ।
बेरोजगारी ,धर्म परिवर्तन, आर्थिक मन्दी जस्ता डरलाग्दो समस्या यो व्यवस्था र प्रणालीले सामना गर्न नसक्ने भन्दै थापाले धार्मिक आस्था र विश्वासमाथि हमला गर्दै धर्म संस्कृति र पहिचानलाई कमजोर बनाउने विदेशी पैसाको प्रयोग गरिएकोमा आपत्ति प्रकट गर्दै थापाले छानबिन र कारबाहीको समेत माग गरे ।
सो अवसरमा उनले संगठन र आन्दोलनलाई संगै लैजानु पर्ने भएकोले विषयको गाम्भीर्यतालाई बुझेर काम गर्न भर्चुअल बैठकमा सहभागी नेता कार्यकर्तामा आग्रह समेत गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया