दल

विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो : अध्यक्ष दाहाल

इकागज |
माघ २६, २०८१ शनिबार २१:५९ बजे

फाइल फाेटाे

काठमाडौं -  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेरास्ववियू (क्रान्तिकारी)को चुनावले विद्यार्थी नहुने तर नेता हुने स्थितिको अन्त्य गरेको बताएका छन् । अनेरास्ववियू क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको सपथ तथा पदभार ग्रहण कार्यक्रममा उनले यसबाट माओवादीले नीति र नेतृत्व दुवै लोकतान्त्रिक विधिबाट टुङ्ग्यायो भन्ने शक्तिशाली सन्देश प्रवाहित भएको बताए । 

“उमेर हद र नेतृत्व दुवैमा निर्वाचनबाट नै टुङ्गो लगाउनुपर्छ भनेर दृढतापूर्वक लागेर पार्टीले प्रत्यक्ष हस्तक्षेप नगरेर विद्यार्थीकै मतबाट टुङ्गो लगाउनु महत्वपूर्ण अभ्यास हो”, अध्यक्ष दाहालले भने, “अहिले आएको परिणामले मिलेर अघि बढ्ने र सङ्गठनलाई एकताबद्ध बनाउने वातावरण बनेको छ ।”


आगामी स्ववियु निर्वाचनमा श्रेष्ठता हासिल गर्न आग्रह गर्दै उनले स्ववियु निर्वाचनमा अर्जुनदृष्टि बनाउन र एकताबद्ध भएर सम्पूर्ण तयारीमा लाग्न आग्रह गरे । अध्यक्ष दाहालले अखिल क्रान्तिकारीको नयाँ केन्द्रीय समितिका अगाडि स्ववियू निर्वाचन महत्वपूर्ण चुनौतीको रूपमा आएकोसमेत बताए । 

त्यस अवसरमा निवर्तमान अध्यक्ष पञ्चा सिंहले नवनिर्वाचित अध्यक्ष विजयप्रकाश शर्मा सापकोटालाई कार्यभार हस्तान्तरण गरे ।  यही माघ १२ गते सम्पन्न निर्वाचनबाट केन्द्रीय पदाधिकारी, केन्द्रीय सचिवालय, केन्द्रीय सदस्य एवं केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्य निर्वाचित भएका थिए ।
 


Author

थप समाचार
x