दल

मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्छ : डा.बाबुराम भट्टराई

इकागज |
माघ २७, २०८१ आइतबार १७:४४ बजे

फाइल फाेटाे

काठमाडौं - नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने बताएका छन् । 

आइतबारबाट काठमाडौंमा सुरु नेसपा (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा बोल्दै भट्टराईले सत्तामा पुग्नका लागि करोडौँ खर्च गर्न र सत्तामा पुगेपछि त्यसलाई दोहन गर्ने परिपाटी अन्त्य गर्न निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका हुन् । 


चुनावमा लाग्ने खर्च राज्यले नै व्यहोर्ने र कम खर्चिलो बनाउने गरि आवश्यक सुधारको खाँचो रहेको उनले बताए । उनले राज्यका हरेक निकायलाई पनि सुधार गर्न सके भ्रष्टाचार नियन्त्रण हुने दावी गरे । 

भट्टराईले नयाँ वैकल्पिक शक्ति बनाउनका लागि बिचार मिल्नेहरूसंग सहकार्य गर्दै जाने र पुराना शक्तिहरूलाई बाइ–बाइ गर्ने जिकिर गरे । उनले अहिलेको उपलब्धिलाई रक्षा गर्दै थप सुदृढ बनाउनका लागि केही समय ठूला दलसँग सहकार्य गर्नुपरेको बताए । 

प्रथम महाधिवेशनमा भट्टराईले नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार बिषयक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् । त्यस्तै नेसपाले महाधिवेशन आयोजक समिति विघटन गरी अध्यक्ष मण्डल गठन गरेको छ । पदाधिकारी र केन्द्रीय समिति सदस्य चयन गर्दै महाधिवेशन मंगलबार सम्पन्न हुने नेसपा (नयाँ शक्ति) ले जनाएको छ । 


Author

थप समाचार
x