दल

फागुन १ गतेलाई बलिदानी दिवस घोषणा गर्न वाइसीएलको माग

इकागज |
माघ ३०, २०८१ बुधबार १६:४६ बजे

सिन्धुपाल्चोक- वाइसीएल नेपाल, सिन्धुपाल्चोकले फागुन १ लाई राष्ट्रिय बलिदानी दिवस घोषणा गर्न ज्ञापनपत्रमार्फत प्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग गरेको छ। 

जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जग बसाएको भन्दै वाइसीएल नेपाल सिन्धुपाल्चोकले प्रमुख जिल्ला अधिकारी किरण थापामार्फत प्रधानमन्त्रीलाई बलिदानी दिवस घोषणा गर्न माग गरेको हो । नेकपा माओवादी केन्द्रले मनाउँदै आएको जनयुद्ध दिवसको ३० ‌औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रताका निम्ति भएको आन्दोलनलाई सबैले साझा दिवसका रूपमा मनाउनु पर्ने ज्ञापनपत्रमा बताइएको छ। 


देशमा सामन्ती राजतन्त्रको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र समावेशी लोकतन्त्र जनयुद्ध कै जगमा स्थापित भएकाले यसको गौरबपूर्ण बलिदानीलाइ सम्मान गर्न राज्यले कन्जुस्याइँ गर्न नहुने वाइसीएल नेपाल सिन्धुपाल्चोकका संयोजक सुमित काफ्लेले बताए।  ‘जनयुद्धको जगमा उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ।´ संयोजक काफ्लेले भने- `सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव जनयुद्ध कै बलमा भएको हो।´

जनबादी क्रान्ति सम्पन्न गर्न २०५१ फागुन १ बाट नेपालमा तत्कालीन नेकपा (माओवादी)ले जनयुद्धको सुरु गरेको थियो। नेकपा माओवादी र सम्बद्ध संगठनहरुले सो दिनको स्मरण गर्दै फागुन १ गते लाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएका छन् ।


Author

थप समाचार
x