दल

भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा र लोसपाको निर्णयपछि देउवा छलफलमा

इकागज |
फागुन २, २०८१ शुक्रबार १२:५४ बजे

फाइल तस्बिर

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपाले भूमिसम्बन्धी अध्यादेशमा साथ नदिने निर्णयपछि सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवा आन्तरिक छलफलमा जुटेका छन् । 

जसपाले सरकारलाई समर्थन गरे पनि सत्तामा छैन । लोसपा भने सरकारमै सामेल छ । सरकारमै सामेल दल लोसपासँग राष्ट्रिय सभामा एक सिट भने जसपा नेपालसँग तीन सिट छ । यदि जसपा नेपाल र लोसपाले साथ नदिएमा सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश पारित हुने छैन ।


जसले गर्दा प्रधानमन्त्री केपी ओलीसहित कांग्रेस पनि नैतिक संकटमा पर्ने छ । यसै विषयमा छलफल गर्न गत १४औं महाधिवेशनमा आफूलाई सभापति निर्वाचित गराउन भूमिका खेलेका नेताहरुसँग देउवा निवास बूढानीलकण्ठमा छलफल भइरहेको छ ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्का, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान सिंह, डा.प्रकाशशरण महतलगायतका नेताहरु सहभागी भएको नेताहरुको भनाइ छ । कांग्रेसमै पनि भूमिसम्बन्धी अध्यादेशका विषयमा फरक फरक मत भएकाले देउवाले नेताहरूसँग छलफल थालेका हुन् ।  

तर प्रधानमन्त्री केपी ओलीले भने सबै अध्यादेश दुवै सदनबाट स्वीकृत हुने दाबी गरेका छन् । बिहीबार राति साढे १ बजे एमाले बागमती प्रदेशका इन्चार्ज राजन भट्टराईसहित विभिन्न जिल्लाका इन्चार्जहरूले भेटेका थिए । प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी अध्यादेशसहित ६ वटै दुवै सदनबाट पारित हुने बताएका थिए ।


Author

थप समाचार
x