दल

देशका लागि योगदान दिनेलाई सबैले सम्मान गर्नुपर्छः महासचिव पोखरेल

इकागज |
फागुन ५, २०८१ सोमबार १५:१७ बजे

फाइल फाेटाे

दाङ - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले देशका लागि योगदान दिने मानिसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताएका छन् । 

दाङको तुलसीपुर उपमहानगरपालिका–११ मालेडाँडामा आज श्रीमणि आचार्य स्मृति पार्क शिलान्यास कार्यक्रममा उनले श्रीमणि आचार्यले देश र जनताका लागि योगदान दिएको बताए । उनले कुनै पनि ठाउँमा खर्च गर्दा त्यसको उपलब्धि हुने गरी खर्च गर्नुपर्ने बताए । 


भौतिक पूर्वाधार निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन पोखरेलले आग्रह गरे । यस्ता काममा तीनवटै तहका सरकारको सहकार्य आवश्यक रहेको पनि उनले स्पष्ट पारे ।  विकासका हरेक काममा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने भएकाले बनेका संरचना कस्तो हिसाबले सदुपयोग गर्ने भन्ने कुरा स्थानीय समुदायकै भूमिकामा भर पर्ने पोखरेलको भनाइ थियो । 

स्थानीय समुदायले उचित प्रयोग र सदुपयोग गरेन भने सरकारले जति खर्च गरे पनि त्यो प्रभावकारी नहुने पोखरेलले बताए । श्रीमणि आचार्यको नाम आफ्नै कामले जीवन्त रहेको पोखरेलले धारणा राखे । उनको सम्मानमा स्मृति पार्क बन्नु खुसीको कुरा भएको उनले बताए । दाङको कम्युनिस्ट आन्दोलनमा श्रीमणि आचार्यले दिनरात खटेर पार्टीको नेतृत्व गरेका थिए । उनको २०६४ पुस ३ गते मृत्यु भएको थियो । 
 


Author

थप समाचार
x