नेपालले मनपरी गरेको भन्दै झलनाथको असन्तुष्टि

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जारी केन्द्रीय कमिटी बैठकमा असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू र युवा संगठनमा मनपरी गरेको आरोप लगाउँदै उक्त गलत निर्णय सच्याउन माग गरेका हुन् ।
पार्टी अध्यक्ष नेपालले जारी गरेको अपानिमा दोहोरो जिम्मेवारीको नाममा अनेरास्ववियूकी अध्यक्ष आरती लामा र युवा संघका अध्यक्ष कृष्ण विकलाई पदमुक्त गरेका थिए । त्यसपछि अनेरास्ववियूमा समनान्तर कमिटीको अभ्यास भइरहेको थियो । माधव नेपालको यस्तो कदमको विरोध गर्दै सम्मानित नेता खनालले पार्टी नेतृत्वले निरंकुश र नोकरशाही शैलीमा मनपरी ढङ्गले युवाहरूलाई हाँक्न खोजेको आरोप लगाएका छन् ।
उनले केन्द्रीय कमिटी बैठकमा भनेका छन्- ‘समाजवादी चेतना र प्रतिबद्वताले समेत जागरूक बन्दै गरेका युवाहरूलाई निरंकुश र नोकरशाही शैलीमा मनपरी ढङ्गले हाक्न खोजेर हाँक्न सकिँदैन । पार्टी नेतृत्वले जथाभाबी डण्डा चलाएर पार्टी चल्न सक्दैन र चलाउन सकिँदैन भन्ने कुरा आत्मसात गर्न सक्नुपर्छ । अन्यथा दुर्भाग्यपूर्ण अवस्था आइलाग्ने कुरा अवश्यभावी हुन्छ ।'
शुक्रबारदेखि जारी केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ र केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया