दल

सात वटा प्रदेश पाँच वा नौ वटा पनि हुन सक्छ रुवाबासी गर्न पर्दैन -प्रधानमन्त्री ओली

इकागज |
फागुन १०, २०८१ शनिबार १७:४८ बजे

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीका संरचनात्मक पक्षलाई हेरफेर र सुधार गर्न सकिने बताएका छन् । 

शनिबार काठमाडौंमा राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले संविधानमा उल्लेख लोकतन्त्रमा आधारभूत पक्षबाहेक अन्य संरचनात्मक पक्षलाई हेरफेर र सुधार गर्न सकिने बताएका हुन् । 


मुलुक र जनताको आवश्यकताका आधारमा सात वटा प्रदेश पाँच वा नौ वटा पनि हुन सक्ने भन्दै त्यसमा कुनै रुवाबासी गर्न नपर्ने उनले बताए । प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलनमा लाग्दा आफूले माग गरेको लोकतान्त्रिक गणतन्त्रको व्यवस्था आफ्नै जीवनमा ल्याउन सफल भएको धारणा राखे । उनले अब देशमा ठूलो राजनीतिक तथा सामाजिक परिवर्तनका लागि लड्नुपर्ने अवस्था नरहेको भन्दै केही सुधार भने गर्न सकिने बताए । आफ्नो नागरिकताका बिषयमा आएका टिकाटिप्पणीबारे प्रधानमन्त्री ओलीले भूमिगत अवस्थामा नागरिकता हराएकाले अर्को नागरिकता बनाएको स्पष्ट पारे । देश र जनताका लागि काम गर्न राधिका शाक्यले सदैव आफूलाई प्रेरणा प्रदान गरेको उनले बताए । 

सो क्रममा लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको संघर्ष, कठिनाइ, सफलता र समाजसेवाका विषय समेटिएको बताए । उनले केपी ओलीका विषयमा समय समयमा अनर्गल प्रचार हुने गरेको भन्दै त्यसले प्रचार गर्ने स्वयंलाई नै असर पुराउने बताए । 

पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका विविध उकाली ओराली तथा नेकपा (एमाले)का तत्कालीन नेता ओलीसँग विवाह सम्बन्धमा बाँधिएपछिका अनेक यात्राहरूबारे उल्लेख छ । 


Author

थप समाचार
x