पत्नीको पुस्तकबारे ओली - यो कहानी वा कथा होइन, सत्य कुराको लिखत हो

फाइल फाेटाे
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक सत्य लिखत भएको टिप्पणी गरेका छन् ।
शनिबार राजधानीमा आयोजित पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले पुस्तक यो कहानी वा कथा नभएर सत्य कुराको लिखत भएको बताएका हुन् ।
उनले भने ‘मैले पढ्दा किताब राम्रै लाग्यो। यो उपन्यास होइन, सत्य कुराको लिखत हो । यो कहानी वा कथा पनि होइन । कहिलेकाहीँ संस्मरण लेख्दा कथानक मिसाइने गरे पनि यो किताब भने त्यस्तो होइन, पूर्णरूपमा सत्य मात्र लेखिएको छ । यसको सत्यतामा कसैले प्रश्न उठाउन सक्दैन, म स्वयं साक्षी छु ।'
प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको ३७औँ वार्षिकोत्सवका अवसरमा पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण गरिएको हो ।
लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको संघर्ष, कठिनाइ, सफलता र समाजसेवाका विषय समेटिएको बताएकी थिइन् ।
पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका उकालीओराली तथा नेता ओलीसँग विवाह बन्धनमा बाँधिए पछिका अनेक प्रसङ्ग उल्लेख छन्।
उनले भनिन्- ‘न म साहित्यकार, न लेखिका हुँ । त्यहि पनि मनमा लागेका आफ्ना विचारहरू कहिलेकाहीँ लेख्ने गर्थे । त्यही सङ्ग्रहलाई आज पुस्तकका रुपमा ल्याएको छु । म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थे । मैले प्रधानमन्त्री ओली, तत्कालीन समयको केपीसँगको विवाह पनि त्यहि करुणाले गरे ।’
प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यबीच २०४४ साल आजकै दिन विवाह भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया