दल

अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरू अपराधी हुन्- बिजुक्छें

इकागज |
फागुन १६, २०८१ शुक्रबार १९:३७ बजे

भक्तपुर - नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरू अपराधी भएको बताएका छन् । उनले त्यसकारण उनीहरूलाई जनताले कारबाही गर्नुपर्नेमा जोड दिए । 

पार्टीको आठौँ महाधिवेशनको शुक्रबार भक्तपुरमा उदघाटन गर्दै उनले उनीहरूलाई जनताले काठमाडौको टुँडिखेलमा ल्याएर कारबाही गर्नुपर्ने बताए । अध्यक्ष बिजुक्छेंले आफनो पार्टीबाहेक अहिलेसम्म झण्डै सबै पार्टीहरू सरकारमा गएको र अहिलेको यो अवस्था आउनुमा उनीहरू सबै दोषी भएको बताए ।


देशमा राजतन्त्र र प्रजातन्त्र वा लोकतान्त्रिक व्यवस्था दशकौं देखेको तर यो व्यवस्थाले जनताको कुनै हित नभएको भन्दै अब समाजवादी व्यवस्थाको अर्को विकल्प नभएको बताए । उनले ऐन कानुनमार्फत् देशद्रोही काम गर्ने सबैलाई कारबाही गर्नुपर्नेमा पनि जोड दिए । 

अधिवेशनमा पार्टी सचिव एवं संघीय सांसद् प्रेम सुवाल, केन्द्रीय सदस्य सुनिल प्रजापतिलगायतका वक्ताहरूले देशमा धेरै कम्युनिष्ट पार्टीहरू रहेको तर उनीहरूमध्ये आफूहरूको पार्टी मात्रै सच्चा कम्युनिष्ट पार्टी भएको दाबी गरे ।  

आजदेखि सुरु भएको महाधिवेशन फागुन १९ गतेसम्म चल्ने छ । महाधिवेशनका लागि सातै प्रदेशबाट प्रतिनिधि, पर्यवेक्षकहरू तथा कार्यकर्ताहरू सहभागी रहेका पार्टीले जनाएको छ । उद्घाटन अघि काठमाडौं कोटेश्वर, भक्तपुरका विभिन्न पाँच ठाउँहरूबाट छुटाछुटै जुलुस भएको थियो । 
 


Author

थप समाचार
x