गणतन्त्रको उदारतालाई मजबुरी नठान्न पूर्वराजा र राजावादीलाई प्रचण्डको चेतावनी

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया र गणतन्त्रको उदारता र मौलिकतालाई मजबुरी नठान्न पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरूलाई चेतावनी दिएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संसारका विभिन्न देशहरूमा तानाशाही राजाहरूको अन्त्य कसरी भएको छ भन्ने बिर्सिएर नेपालको शान्ति प्रक्रिया र गणतन्त्रको मौलिकतालाई कम नआँक्न चेतावनी दिएका हुन् ।
उनले भने- ‘नेपालको शान्ति प्रक्रिया मात्रै होइन, गणतन्त्रको इतिहास पनि निकै मौलिक र उदार रहेको छ । संसारभरीको गणतन्त्रको इतिहासमा राजतन्त्रको रगतले लेखिएको थुप्रै इतिहास भेटिन्छ । तर, नेपाल त्यसको अपवाद बन्यो । हामी सबैलाई राम्रोसँग जानकारी छ, त्यो हाम्रो मौलिकता र उदारताको प्रमाण थियो । पूर्व शाही परिवारमाथि हिंसाको कुरा त परको कुरा, निर्वाशनसमेत नतोकी तत्कालका लागि बस्ने ठाउँसमेत दिएर नेपालमा गणतन्त्रको इतिहास लेखिएको हो भन्ने कुरा हामी कसैले बिर्सन हुँदैन । यो इतिहास क्रान्तिको मजबुरी थियो भन्ने भ्रम कसैलाई लागेको छ भने त्यो निकै ठूलो भ्रममात्रै हुने छ । उदारतालाई कमजोरी ठानियो भने यो निकै निर्मम भएर प्रस्तुत हुनसक्छ भन्ने कुरा सबैले बुझ्न आवश्यक छ ।'
प्रचण्डले पूर्वराजालाई सुरक्षित रूपमा देशमै राख्ने व्यवस्था गरेर गणतन्त्र ल्याएको बताउँदै लामो संघर्षबाट प्राप्त उपलब्धिमाथि प्रतिगमन र प्रतिक्रान्तिको तरवार चलाउने सपना देखिएको बताए ।
प्रचण्डले भने, ‘सारा उपलब्धिलाई उल्टाउने कोशिष हुँदैछ । अब हामीले एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्कातिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट अवस्था सिर्जना भएको छ । सरकारको अविवेक र खराब क्रियाकलापले व्यवस्थाप्रति नै मोहभंग भइरहेको छ । ८ महिना अघिसम्म यस्तो ठूलो असन्तोष थिएन । माइतीघर मण्डला पनि लगभग खाली हुँदै थियो । अहिले सबैतिर आन्दोलन छ ।’
प्रचण्डले सरकारको कामका कारण व्यवस्थाप्रति नै निराशा छाएको उल्लेख गर्दै उनले गणतन्त्रमा फोहोर फालिएको टिप्पणी गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया