पूर्वराजा ज्ञानेन्द्र शाहले नै जनता भड्काउने काम गरे - कृष्ण सिटौला

फाइल फाेटाे
काठमाडौं - नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले नै जनता भड्काउने काम गरेको बताएका छन् ।
सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सिटौलाले सरकारले स–सम्मान बिदाई गरेको पूर्वराजा ज्ञानेन्द्रले केही गर्छु भनेर गाडीमा उभिएर हिँड्न खोज्नु शोभनीय विषय नभएको र जनता भड्काउने काम गरेको बताएका हुन् ।
उनले पूर्वराजाले राज्यले दिएको सम्मान ग्रहण गरेर बस्नुनै उचित हुने जिकिर गरे । तत्कालीन अवस्थामा आफू गृहमन्त्री हुँदा प्रधानमन्त्रीको प्रतिनिधिको रूपमा ज्ञानेन्द्र शाहसँग वार्ता गरेर निवास र सुरक्षा प्रबन्धको ग्यारेन्टी गरेको उनले स्मरण गरे । उनले जनतासामू राजनीतिक खेलाडीको रूपमा मैदानमा आए भन्न सक्नुपर्ने तर राजा आउँछ भनेर जनतालाई भड्काउने काम गर्न नहुने बताए ।
उनले यस विषयमा राजनीतिक दृढता नआएकाले सबै राजनीतिक दल एकताबद्ध भएर उभिने बेला आएको धारणा राखे । सिटौलाले संविधान जारी भइसकेपछि अहिलेसम्मको अवस्थामा आइपुग्दा सबै दलले आलोपालो सरकारको नेतृत्व गरेकाले अव संविधानको कार्यान्वयनको समीक्षा गर्ने बेला भएको बताए ।
उनले नयाँ संविधानमा रहेको मौलिक हकमा रहेका विषयलाई प्रचलनमा ल्याउन सकेको छ वा छैन भन्ने विषयमा पनि निर्मम समीक्षा गर्ने बेला भएको उल्लेख गरे । सिटौलाले जनताको आवश्यकताका आधारमा अव संविधान संशोधन गर्न ढिलाई गर्न नहुनेमा जोड दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया