दल

कांग्रेस–एमालेसहितको सरकारमा सहभागी हुने कुनै नीति छैन - प्रचण्ड

इकागज |
चैत ४, २०८१ सोमबार १८:५९ बजे

फाइल फाेटाे

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेसहितको सरकारमा सहभागी हुने कुनै नीति नरहेको स्पष्ट पार्नुभएको छ । 

सोमबार काठमाडौंमा राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तकको विमोचन गर्दै प्रचण्डले सरकारमा जाने कुनै नीति नलिएको र यसबारे कुनै छलफल समेत नभएको बताएका हुन् । प्रचण्डले मुलुकमा कुनै सङ्कट आएको खण्डमा समाधानको विचार दिन भने आफूहरू तयार रहेपनि यही सरकारमा सामेल हुन भने नसकिने स्पष्ट पारे । 


कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भन्दै बाहिर आएका चर्चामा सत्यता नरहेको उनले बताए । उनले कांग्रेस–एमालेले भ्रष्टाचारीलाई बचाउने उद्देश्यले सरकार बनाएको भन्दै वर्तमान सरकारप्रति सुरुदेखि नै विमति रहेको धारणा राखे ।  

प्रचण्डले इतिहासको चक्का पछाडी फर्काउने दुस्साहस भएको भन्दै सबै मिलेर त्यसको प्रतिवाद गरेर उपलब्धिलाई जोगाउनुपर्नेमा जोड दिए । राजावादीको क्रियाकपाल संविधान विपरीत भएको र जनतालाई फेरि एकचोटी रैती बनाउनेतिर प्रेरित रहेको उनको भनाइ छ ।

प्रचण्डले स्वार्थका लागि नभइ जनताको आवश्यकताका आधारमा परिवर्तन नउल्टाउने गरि संविधान संशोधन गर्नुपर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि जनताको अपेक्षा अनुसार काम हुन नसकेकाले त्यसको समीक्षा र समाधानका लागि माओवादी अघि बढेको धारणा राखे । 


Author

थप समाचार
x