इकागज संवादमा मिलन पाण्डे
नेकपा र कांग्रेसबाट सिकेर उनीहरु कहाँ-कहाँ चुके, हामी त्यहाँ नचुक्ने हो
‘केपी ओलीको नेतृत्वमा लोकतन्त्र बच्दैन, कांग्रेसले लोकतन्त्र वास्ता गरेन’
जुट, फुट र टुटपछि विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुँदैछ । युवा शक्ति परिचालन गरी वैकल्पिक शक्तिका रूपमा आफूलाई स्थापित गर्ने योजनालाई उनीहरूको फुटले असर पारेको थियो । ‘त्यो बुझ्दै’ फेरि एकीकृत हुँदै छन् । दुई दलबीचको एकीकरण, भावी उद्देश्यका विषयमा विवेकशीलका अध्यक्ष मिलन पाण्डेसँग इकागजका निम्ति अंकुरसिंह थापा र गौरवकुमार तामाङले गरेको कुराकानी :
अरू दल जसरी विवेकशील नेपाली र साझा फुट्ने-जुट्ने क्रम छ, यसको मूल कारण के हुन सक्छ ?
विवेकशील-साझा पार्टी दुई वर्षअघि फुट्यो । तर मलाई यो ‘फुट्यो’ भन्ने शब्द चाहिँ कस्तो-कस्तो लाग्छ । फुट्यो भनौँ वा सँगै काम गर्न सकेनौँ । त्यो हाम्रा लागि दुःखद् भयो । संरचनागत समस्या पनि थियो । विवेकशीलले तीन-चार वर्षअघिदेखि राजनीतिक अभ्यास गरिसकेको थियो । साझा चाहिँ भर्खर-भर्खर आएको थियो । हाम्रो फरक पृष्ठभूमि थियो, काम गर्ने शैली पनि फरक । दुई वर्षअघि हामीसँगै काम गर्न सकेनौँ । त्यसपछि हामी यही भिन्नताले हामी अलग हुन पुग्यौँ । हामी अलग भइसकेपछिको यो दुई वर्षमा साझाका साथीहरूले धेरै कुरा सिक्नुभएको छ र हामीले पनि सिकेका छौँ ।
हामी हाम्रो कमजोरी स्वीकार्दै छौँ । अब हामी राम्रैसँग अघि बढ्छौँ ।
अब यो सिकाइसँगै एकै ठाउँमा रहेर काम गर्न सकिन्छ भन्ने देखियो । त्यहीकारण हामी एकीकरण प्रक्रियामा अघि बढेका छौँ । हाम्रो आन्तरिक बुझाइ र राजनीतिक परिवेशले यस्तो कुरा निर्धारण गर्ने रहेछ । फुट्नु नराम्रो हो, त्यो एउटा राजनीतिक दुर्घटना नै हो । तर यदि हामीसँगै हुन्थ्यौँ भने यही कुरा सिक्न हामीलाई १० वर्ष लाग्थ्यो होला, जे कुरा हामीले दुई वर्षमा सिक्यौँ । हामी लड्यौँ र लडेर उठ्न सिकेका छौँ । यसले दीर्घकालमा राम्रै गर्छ भन्ने लाग्छ । हामी हाम्रो कमजोरी स्वीकार्दै छौँ । अब हामी राम्रैसँग अघि बढ्छौँ ।
फुट्नु राजनीतिक दुर्घटना थियो भने जुट्नुको कारण चाहिँ के हो ?
जुट्नुमा हाम्रो आन्तरिक कारण र परिवेशले माग गरेको हो । हेर्नोस्, यतिखेर देशमा लोकतन्त्र खतरामा छ । जसरी केपी ओलीजीले नेतृत्व गरिराख्नु भएको छ, व्यक्तिगत रूपमा मलाई लोकतन्त्र बच्ला भन्ने लाग्दै लाग्दैन । धेरैलाई नेपाली कांग्रेसले लोकतन्त्र बचाउला भन्ने लाग्ला, तर आफूलाई लोकतान्त्रिक पार्टी भने पनि कांग्रेसले लोकतन्त्रप्रति वास्ता गरे जस्तो देखिँदैन । उसलाई चिन्ता छैन । उसलाई केवल लोकतान्त्रिक पार्टी भन्ने विरासत मिलेको छ । त्यही विरासतमा हिँडिरहनु भएको छ । तर लोकतन्त्रलाई बचाउन सच्चा लोकतन्त्रवादी पार्टी चाहिएको छ । त्यो चाहिँ विवेकशील-साझा पार्टी बन्न सक्छ भन्ने लाग्छ ।
भोलि पार्टी विस्तारित हुँदै जाँदा पार्टी बन्छ कि बन्दैन भन्ने चिन्ता पनि छ ।
दोस्रो, विवेकशील-साझा एकीकृत पार्टी हुँदा युवा परिचालन हुन्छन् । हेर्नोस्, आधा जनसंख्या २४ वर्ष मुनिका छन् । युवा समेट्न सकिन्छ भन्ने लाग्छ । हाम्रो पार्टीमा अनुमानित ९० प्रतिशत युवा छन् र साझा दलमा केन्द्रीय समितिको संरचना हेर्दा अनुमानित ६० प्रतिशत युवा हुनुहुन्छ । सम्भवतः एकीकृत पार्टी भइसकेपछि ७० प्रतिशत जति युवा भएको पार्टी बन्छ । देशले युवा नेतृत्व खोजिरहेको छ । हामी त्यस्तो खालको पार्टी बनाउँदै छौँ । हामी शिक्षा, स्वास्थ्य, सामाजिक न्यायका मुद्दा बोक्ने पार्टीको खाँचो छ । त्यहीकारण युवाहरूलाई समेटेर एउटा सशक्त पार्टी बनाउन सकिन्छ भन्ने विश्वास जाग्यो, विश्वास पलायो । हामी नेतृत्व गर्न सक्छौँ भन्ने लाग्यो । त्यहीकारण हामी एकीकृत हुँदै छौँ ।
युवाको नेतृत्व गर्ने दाबी गरेको विवेकशील पुराना पार्टीको आलोचनामा मात्र रमाएको पाइन्छ, तपाईंहरूको संयुक्त एजेन्डा के हो ?
हामीले स्पष्टसँग भन्दै आएका छौ कि मुलुकमा सहभागितामूलक लोकतन्त्र चाहिन्छ । यतिखेर प्रतिनिधिमूलक लोकतन्त्र भनिएको छ, चुनावका बखत राम्रा-राम्रा नारा दिने, चुनाव जित्ने र चुनाव जितिसकेपछि मनलाग्दी गर्ने चलन देखिएको छ । उनीहरू मतदाताका कुरै सुन्दैनन् । त्यतिमात्र होइन कि आफ्नै पार्टीको भनाइ पनि नसुनिएको स्थिति छ । त्यसकारण हाम्रो उद्देश्य सहभागितामूलक लोकतन्त्र हो । आमनागरिकलाई सहभागी गराउँदै नयाँ निचोड ल्याउने, आमनागरिकको चाहनाअनुरूप विकास गर्ने हो ।
हाम्रो एकमात्र मन्त्र हो- काम, काम र काम ।
त्यसपछि हाम्रो एजेन्डा भनेको शिक्षा, स्वाथ्य र सुशासनका सवाल हुन् । भ्रष्टाचारविरोधी अभियानमा एक ठाउँमा उभिनुपर्छ । सत्तामा पुगेका दलहरूले ‘डेलिभर’ गर्न नसकेको देखेपछि आमनागरिक आजित भएका छन् । एउटा राजनीतिक दल सत्तामा कसरी पुग्ने ? ध्याउन्नमा हुन्छन् । जसरी पुगे, त्यसले समस्या ल्याएको छ । मासु-भात खुवाएर चुनाव जितिरहेका छन् । त्यसपछि व्यापारी-बिचौलियाहरूबाट चन्दा उठाएर पार्टी चलाइरहेका छन् । त्यसमा ‘ब्रेक’ लगाउने हाम्रो उद्देश्य हो । राजनीतिक दल र नेता कसरी बन्ने भन्ने संस्कार परिवर्तन चाहिएको छ ।
अर्को चाहिँ सत्तामा पुगिसकेपछि ‘डेलिभर’ गर्न सक्नुपर्छ । आजका हाम्रा नेताहरूले किन ‘डेलिभर’ गर्न सक्दैनन् भन्दा म हाम्रै प्रधानमन्त्रीलाई हेर्छु, उहाँलाई देश र कोरानाबारे सोच्ने फुर्सद छैन । प्रधानमन्त्री त प्रचण्डले कसलाई भेटे, माधवकुमार नेपाल के भन्दैछन् भन्नेमा केन्द्रित छन् । यो उहाँको बाध्यता होला । यो हेर्दा केपी ओलीको ठाउँमा प्रचण्ड प्रधानमन्त्री भए पनि वा अरु पार्टीका युवा व्यक्ति आए पनि स्थिति यस्तै हो । कुन बेला कुर्सी जान्छ, थाहा छैन ? अनि कसरी देशबारे सोचून् । यतिखेर ७० लाख विद्यार्थी स्कुल जान पाइरहेका छैनन् । तिनीहरू शिक्षाबाट वञ्चित छन् भनी कसरी सोचून् ? कत्तिको लगानी डुबिरहेको छ । तर दुर्भाग्य, तिनको प्राथमिकतामा मुलुक परेको छैन । यस्ता विषयमा अबका वैकल्पिक राजनीतिक शक्तिहरूले ध्यान दिनैपर्छ । हामी सशक्त पार्टी बनाउने अभियानमा छौँ ।
तपाईंले भनेअनुसार अरू पार्टी व्यापारी-बिचौलियाका सहयोगमा चलेका छन्, अनि विवेकशील चाहिँ ?
विवेकशील सदस्यता शुल्क, विदेशमा रहेका नेपालीहरू पनि हाम्रा सदस्य हुनुहुन्छ र हाम्रा शुभचिन्तकहरूबाट डोनेसन प्राप्त भइरहेको छ । हाम्रो पार्टीको वेबसाइटमा जानुभयो भने त्यहाँ हाम्रो सम्पूर्ण हिसाब-किताब पाउनुहुन्छ । सबै पारदर्शी छन् । कहाँ-कहाँबाट कति रकम आयो र के-केमा खर्च भयो भन्ने पनि पारदर्शी रूपमा राखेका छौँ । खर्च कम गरी पार्टी सञ्चालन गर्ने क्षमता पनि चाहिन्छ । हामी कालो चिया खाएर काम गर्छौ । कसैलाई मासुभात खुवाउनु पर्दैन, कसलाई पेट्रोल खर्च कसैलाई दिनुपरेको छैन । त्यसो हुँदा हाम्रो त्यति धेरै खर्च पनि हुँदैन ।
आफैँ अस्थिर हुनुहुन्छ अनि देशमा स्थिरता ल्याउनुहुन्छ भन्ने चाहिँ कसरी भरोसा गर्ने ?
हो, फुट्दा हामीले नागरिकको विश्वासलाई घात गर्यौँ । पार्टी फुट्नुमा दरिलो कारण थियो, त्यो हाम्रा लागि बाध्यता थिए । तर नागरिकलाई चाहिँ त्यसबारे खास मतलब पनि थिएन । उहाँहरूले विवेकशील-साझामा अस्थिरता देख्नु स्वाभाविक थियो ।
न मदन भण्डारीले सोचेजस्तो नेकपा छ, न बीपीले सोचेजस्तो कांग्रेस ।
अबको हाम्रो उद्देश्य भनेको पार्टीलाई स्थिर बनाउने, सशक्त बनाउने र कामबाटै प्रमाणित गर्ने हो । अब धेरै गफ गरेर र बोलेर नागरिकले पत्याउलान् भन्ने लाग्दैन । त्यसकारण हाम्रो एकमात्र मन्त्र हो- काम, काम र काम हो । हामी कामबाटै प्रमाणित हुनेछौँ ।
राजनीतिमा युवाहरूको चासो कम देखिन्छ । उनीहरू विदेश पलायन भइरहेका छन् । के सोच्नुभएको छ ?
युवाहरूलाई मुलुकप्रति बढी रुचि छ जस्तो लाग्छ । तर युवाहरूमा देशप्रति निराशा बढी छ । मैले एक भोट हालेर देशमा परिवर्तन हुन्छ भन्ने लाग्दै लाग्दैन भने किन भोट हाल्ने भन्ने पनि छ । यो देशमा बसेर मेरो भविष्य बन्दैन र देशलाई पनि कुनै योगदान हुँदैन भने किन यो देशमा बस्ने भन्ने छ । मेरा डाक्टर साथी छन् । उनी भन्छन्- म यो देशमा इमानदार भएर बाँच्न सक्दिनँ । युवाहरूले आशा नै देखेका छैनन् । निराशा छ । यदि हामीले त्यसलाई आशा देखाउन सक्नुपर्छ । अब हामीले गर्ने आशाको राजनीति हो, अब यसमै अडिग हुनुपर्छ भन्ने लाग्छ ।
विवेकशील र साझा मिलेपछि के/कस्तो काम गर्ने भन्ने योजना छन् ?
पहिले त हामी सोचेको जस्तो सशक्त पार्टी बनाउने हो । किनभने पार्टी बनाउनु भनेको गाह्रो काम हो । अझ हामीले भनेको जस्तो बनाउने अझै गाह्रो काम हो । पार्टी त बन्ला, तर के हामीले सोचे बनाउन खट्नैपर्छ । आज मदन भण्डारीले सोचेजस्तो नेकपा छैन होला । बीपीले सोचेको नेपाली कांग्रेस नहोला । आज हामीले जे सपना बाँडेका छौँ, जस्तो पार्टी बनाउँछौँ भनेका छौँ, भोलि पार्टी विस्तारित हुँदै जाँदा पार्टी बन्छ कि बन्दैन भन्ने चिन्ता पनि छ । आज मात्रै हैन २५ वर्षपछि पनि नेकपा र कांग्रेसबाट सिकेर उनीहरू कहाँ-कहाँ चुके, हामी त्यो कुरामा नचुक्ने हो । अब आउँदो चुनावमा हामीले नेकपा र नेपाली कांग्रेसको विकल्पको आफूलाई प्रस्तुत गर्न सक्ने शक्ति बनाउने हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया