दल

शिक्षक, प्राध्यापक र विद्यार्थीलाई दलीय राजनीतिबाट अलग राख्नुपर्छ : कांग्रेस

इकागज |
भदौ १२, २०७८ शनिबार १८:५६ बजे

काठमाडौँ - नेपाली कांग्रेसको शिक्षा विभागले शिक्षक, प्राध्यापक तथा विद्यार्थीलाई दलीय राजनीति गर्ने कार्यबाट अलग राख्नुपर्ने प्रस्ताव गरेको छ । शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा पार्टीको प्रस्तावित राष्ट्रिय शिक्षा नीति प्रतिवेदन सार्वजनिक गर्दै विभागले शिक्षक र विद्यार्थीलाई दलीय राजनीतिबाट अलग राख्नुपर्ने प्रस्ताव गरेको हो । 

प्रतिवेदनमा शिक्षा क्षेत्रलाई दलीय हस्तक्षेप हुनबाट रोक्नुपर्ने उल्लेख छ । प्रतिवेदनमा शिक्षा प्रणालीलाई ज्ञान व्यवस्था तथा ज्ञान अर्थव्यवस्थामा आधारित बनाई प्रजातान्त्रिक आचरण भएको सामाजिक रूपान्तरण, आर्थिक विकास र विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक उत्पादनमा जोड दिनुपर्ने उल्लेख गरिएको छ । 


त्यस्तै बाल कक्षादेखि कक्षा ४ सम्म पूर्व आधारभूत तह, कक्षा ५ देखि कक्षा ८सम्म आधारभूत तह, कक्षा ९ देखि कक्षा १२ सम्म माध्यमिक तह र त्यसमाथी उच्च शिक्षा गरी चार भागमा विभाजन गर्नुपर्ने विभागको प्रस्ताव छ । 

पत्रकार सम्मेलनमा कांग्रेस शिक्षा विभागका संयोजक हरिप्रसाद नेपालले प्रतिवेदन १४औं महाधिवेशनबाट पारित गर्नुपर्ने बताउनुभयो । यसलाई कार्यान्वयन गराउन पनि कांग्रेसले नीति बनाउनुपर्ने बताउनुभयो ।

अबको दुई वर्षभित्रमा स्थानीय तहरू मध्ये गाउँपालिकामा एक-एक वटा, नगरपालिकाहरूमा २ वटा, उपमहानगरपालिकामा ३ वटा र महानगरपालिकामा पाँचवटा माध्यमिक तहको आवासीय विद्यालय सञ्चालन गर्नु पर्ने गरी नीति बनाउने प्रतिवेदनमा उल्लेख गरिएको छ । 


Author

थप समाचार
x